नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिको विशेष बैठक सम्पन्न भएको छ । विशेष बैठक नगर प्रमुख टीपी शर्माको अध्यक्षतामा आज (शुक्रबार) सम्पन्न भएको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज), वागमती प्रदेश सभा सदस्य सांसदहरु रत्न ढकाल, चन्द्र लामा र गोमा भुर्तेलको समेत विशेष उपस्थिति रहेको थियो ।

के–के भने सांसदहरुले बैठकमा ?
बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘संघीय सरकारले नीतिगत निर्णय गरिसकेको छ । त्यसैगरि प्रदेश सरकारले पनि नीतिगत निर्णय गरिसकेको छ ।’ उनले वडा अध्यक्षहरुको ध्यानाकर्षण गराउँदै भने, ‘अब नगरपालिकाले पनि नीतिगत निर्णय गर्ने हो, सबै कार्यन्वयन वडाले गर्ने हो । त्यसैले अब वडा अध्यक्षहरुले बढी जिम्मेवार हुने दिन आयो ।’ सांसद बमध्वजले कोरोना विरुद्धको लडाईमा हामीले जित्ने हो भने क्वारेन्टाइनको विकल्प नरहेको बताए ।

त्यसैगरि प्रदेश सासदहरु रत्न ढकाल, चन्द्र लामा र गोमा भुर्तेलले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि सिंगो राष्ट्र लागिरहेको अवस्थामा नागरिकलाई लकडाउनले दैनिक जीवन यापन गर्न समस्या परे सरकार साथमा रहेको बताए ।
बैठकमा नगर प्रमुख टीपी शर्माले लकडाउन अवधिमा नगरको अवस्था, नगरले गरेको कृयाकलापहरु लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा नेकापका नेता हरि तिमल्सिना, नेपाली काँग्रेसका नगर सभापति कुन्साङ लामा, राप्रपाका नेता केशब बहादुर रायमाझी, मेथिनकोट अस्पतालका प्रमुख डा. रामशरण श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष धर्म लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तो छ बैठकका निर्णयहरुः
१. आज मिति २०७६ चैत्र २१ गते नमोबुद्ध नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिको विशेष बैठकमा उपस्थित भई हाल विश्वभरी तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामका लागि गम्भिर चासो व्यक्त गर्नुभएकोमा प्रतिनिधि सभाका माननीय सदस्य श्री गंगा बहादुर दोङज्यू तथा प्रदेशसभाका माननीयज्यूहरु मा. चन्द्र लामाज्यू, मा. रत्न ढकालज्यू, मा. गोमा भुर्तेलज्यू प्रति धन्यवाद व्यक्त गर्ने ।
२. विगत केही महिनादेखि विश्वभरी तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण, रोकथाम, व्यवस्थापन तथा राहतका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषको खाता नं. १५४०३०५०४९४०२मा सहयोग गर्न चाहनुहुने इच्छुक व्यक्ति, संघ–संस्था, उद्योगी, व्यवसायी तथा समाजसेवी दाताहरुहलाई आव्हान गर्ने ।
३. बुँदा नंन. २ अनुसार प्राप्त हुने सहयोग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद व्यवस्थापन शाखाको प.सं. ०७६र७७, च.नं. ४३९, मिति २०७६।१२।१९ गतेको पत्र मार्फत प्राप्त ‘असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड, २०७६’ तथा ‘कोभिड–१९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६’ का आधारमा मापदण्ड तयार गरी कार्यपालिकाबाट स्वीकृत गरी यथाशक्य चाँडो लागु गर्ने ।
४. प्रस्तुत महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश तथा जिल्ला स्थित कार्यालयहरुबाट जारी भएका परिपत्रहरु, निर्देशनहरु नगरपालिका तथा मातहतका वडा कार्यालयहरुबाट तत्काल लागु गर्ने गराउने व्यवस्था गर्ने । साथै कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि तत्काल वडा विपद व्यवस्थापन समितिको बैठक राखी व्यापक छलफल गरी के के उपायहरु अवलम्वन गर्न सकिन्छ ? र तहाँबाट के के प्रयासहरु भएका छन् निर्णय उपलब्ध गराउन निर्देशन गर्ने ।
५. अत्यावशक सेवा ऐन अन्तरगत नगरपालिकाको जिम्मेवारीमा पर्ने स्वास्थ्य सेवा, दमकल, एम्बुलेन्स, फोहोरमैला व्यवस्थापन लगायतका सेवाहरूलाई निरन्तरता दिने ।
६. नमोबुद्ध नगरपालिकाबाट रोजगारको लागि विदेशिएका नागरिकहरु हाल कुन कुन मुलुकमा के कस्तो अवस्थामा छन् सो सम्बन्धमा सम्बन्धित वडा कार्यालय मार्फत तथ्यांक सं।कलन गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















