तेमाल । काभ्रेको तेमाल गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्य सामग्री पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष सलामसिं तामाङको नेतृत्वमा तेमालका सबै स्वास्थ्य संस्थाहरुमा औषधी र स्वास्थ्य सामग्री पुर्‍याइएका हुन् ।

तेमालमा रहेको ७ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायीक स्वास्थ्य इकाईमा औषधी र स्वास्थ्य सामग्री लिएर अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल, सामाजिक विकास संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतका पुगेका थिए ।

तेमाल थप १५ प्रकारको औषधी
तेमाल गाउँपालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधी बाहेक १५ प्रकारका अन्य एन्टीभाइटीक औषधि समेतको व्यवस्था गरेको छ । सबै मेडिकलहरु बन्द रहेको अवस्था र अस्पतालसम्म पुग्न नसकिने अवस्था भएकोले जनतालाई लकडाउनमा सहज उपचारको व्यवस्था गर्न थप औषधीको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
‘अहिले गाउँमा मेडीकलहरु पनि त्यति छैनन् । भएको पनि बन्द अवस्थामा छ । यतिखेर जनता अस्पतालसम्म जान सक्ने अवस्थामा पनि छैन ।’ अध्यक्ष तामाङले भने, ‘जनताको स्वास्थ्य प्रति गम्भिर भएर र सरकारको दायित्व पूरा गरेका हौं । त्यसैले नेपाल सरकाले निःशुल्क दिंदै आएको औषधि बाहेक १५ थरिको औषधिको पनि हामीले व्यवस्था गरेका हौं ।’

थर्मल गन एउटा मात्र
औषधि पर्याप्त भएपनि तेमाल गाउँपालिकामा स्वास्थ्य सामग्रीको भने धेरै अभाव रहेको छ । तेमाल गाउँपालिकामै थर्मल गन अर्थात ज्वारो नाप्ने यन्त्र एउटा मात्र रहेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । ‘हामी व्यवस्था गर्ने तरखरमा छौं । भोलिसम्ममा आईपुग्छ होला ।’ पाठकले भने, ‘तेमालमा रहेको एउटा हेल्थ डेस्कमा मात्र थर्मल गन छ ।’
थर्मल गन स्वास्थ्य परिक्षणको आधारभूत कुरा हो । कोरोना भाइरको लक्षण थाहा पाउनका लागि थर्मल गनको आवश्यकत पर्दछ । तर थर्मल गन नै नभएपछि अन्य स्वास्थ्य संस्थाहरुमा भने ज्वारो नाप्ने यन्त्र थर्मोमिटर बाहेक छैन । पाठकका अनुसार तेमाल गाउँपालिकामा न्यूनतम १० वटा चाहिएकोमा जम्मा १ वटामात्र रहेको छ ।
त्यसैगरि ५० वटा पिपिई पनि न्यूनतम ५० वटा चाहिनेमा जम्मा २० सेट मात्र प्राप्त भएको उनले जानकारी दिए । पाठकका अनुसार उक्त पिपिई सेट प्रत्येक सामुदायिक स्वास्थ्य इकाईहरुमा १।१ वटा, हेल्थपोष्टहरुमा २।२ वटा, एम्बुलेन्स चालकलाई १ वटा र हेल्थ डेस्कमा बस्नेलाई १।१ वटा वितरण गरेको छ ।
स्वास्थ्य परिक्षण १५ सयको
हालसम्म तेमाल गाउँपालिकामा १५ सय जनाको स्वास्थ्य परिक्षण् गरिएको स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए । ‘तेमालमा चैत्र १० गतेदेखि यता ओपिडी र हेल्थडेस्कमा गरेर स्वास्थ्य परिक्षण १५ सय जनाको गरेका छौं ।’ पाठकले जानकारी दिए ।
२५ जना पुग्यो विदेशबाट आएका
तेमाल गाउँपालिकामा विदेशबाट आएको संख्या २५ जना पुगेको छ । ‘विदेशबाट आएकाहरु तेमालमा २५ जना पुगेको छ ।’ स्वास्थ्य शाखा प्रमुख पाठकले भने, ‘उहाँहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा राखेका छौं । उहाँहरुमा कोभिड–१९सँग मिल्ने खालको कुनै लक्षण देखापरेको छैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।