काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन नसकेको आरोप लगाएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लबले केपी वली सरकारले कोरोना भाईरसको प्रकोप रोक्न नसकेको आरोप लगाएका हुन् ।
प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको समेत बताएका विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव समेत दिएका छन् । साथै विज्ञप्तिमा पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका छन् ।
महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्यको आरम्भमा भनिएको छ, ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा संक्र्रमित भएको छ, अर्बौं मानिसलाई भयभीत बनाएको छ । यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्वयुद्धपछिको संकट भन्न थालेका छन् । यसले विश्व–अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ ।’
कोरोना संक्र्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको भन्दै वक्तव्यमा अगाडि भनिएको छ, ‘चीनको वुहान सहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पुँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भयो । साथै नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ । जस्तो कि चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवनाका बारेमा चर्चा गरे पनि रोकथामका उपायबारे पहल गरिएन । अन्तर्रा्ष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिएन । यसप्रकारको समस्या देखापरेपछि विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य रह्यो । ठूलो दबाबबाट मात्र चीनबाट केही विद्यार्थी नेपाल ल्याइयो ।’
सरकारलाई विप्लबको सुझाव यस्तो छः
१. कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ । सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।
२. कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।
३. श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।
४. अन्तर्रा्ष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।
५. विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।
६. कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।
७. भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।
८. चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।
९. मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।
१०. कोरोना संक्र्रमण्को आशंकामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।
११. कोरोनाको संक्र्रमणको आशंकामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ । त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।
१२. क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।
१३. कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।
१४. आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निक्र्योल गरेर मात्र आयात गर्नुपर्छ ।
१५. नेपाल–भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।
१६. परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।
पर्टी महासचिव विप्लवले कोरोना भाइरसविरुद्धको सङ्घर्षमा पार्टीले गर्ने ६ बुँदे कामः
१. कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ ।
२. कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।
३. पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्दे्शित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।
४. भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।
५. कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँँजीवादी सरकारको भण्डाफोर गर्नेछ ।
६. कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बावजुत जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौँ ।
विज्ञप्तिको पूर्णपाठः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।