धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पनौती नगरपालिका–१२ स्थित कलाती भूमिडाँडाकी ४८ वर्षीया मधुमाया तामाङको मृत्यु भएको हो ।
तामाङलाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि आज (आइतबार) बिहान करिब पौने ९ बजे अस्पताल भर्ना गरिएको थियो । तर अस्पताल पुग्नसाथ उनलाई डाक्टरले मृत घोषण गरिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव हाल अस्पतालमा नै राखिएको छ।
तामाङको के कारणले मृत्यु भएको हो भन्ने कुनै रिपोर्ट आएको छैन। मृतकको नमुना संकलन गरेर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको धुलिखेल अस्पतालका डा. सुमन श्रेष्ठले जानकारी दिए।
मृतककी छोरी कतारबाट आएकी थिइन्ः
मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ यही चैत ३ गते कतारबाट नेपाल आएकी थिइन् । सुकुमायासहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको डाक्टर श्रेष्ठले बताए ।
उनका अनुसार सुकुमायाको पनि नमुना संकलन गरी परिक्षणको लागि टेकु पठाइएको छ।

Comments

comments