खगेन्द्र हमाल
सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले आव्हान गरेको लकडाउनलाई बलप्रयोग गरेर भएपनि प्रभावकारी बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस संक्रमण दोश्रो चरणमा पुगेको र त्यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई पुर्णरुपले तिव्रता दिन समेत निर्देशन दिए ।
प्रदेशका वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई तत्काल प्रभावकारी वनाउन मुख्यमन्त्री शाहीले बिशेश जोड दिए । ‘कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमानाकामाहरुमा हेल्थ डेस्क स्थापना स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गरेका कारणले नै अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाभाईरसको संक्रमण नदेखिएको हो ।’ मुख्य मन्त्री शाहीले भने, ‘लकडाउनपछि लुकीछिपी विदेशवाट गाउँमा पुगेका नागरिकवाट धेरै संक्रमणको जोखिम रहेको छ । बढी संक्रमण भएका मुलुकवाट गाउँमा पुगेका नागरिकको तत्काल स्याम्पल संकलन गरेर परिक्षण कार्यलाई तिव्रता दिन हुन म अनुरोध गर्दछु ।’
मुख्यमन्त्री शाहीले प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एकिकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा तत्काल परिचालन व्यवस्था मिलाउन निर्देशन दिए ।
‘प्रदेशका प्रत्येक वडामा एकिकृत टोलीले सेल्फ क्वारेन्टाईन रहे नरहेको अनुगमण गर्ने, एक घरवाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपुर्ती व्यवस्था मिलाउने, संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्ने लगायतका काममा बिशेश सहयोग गरौं ।’ शाहीले भने, ‘विदेशवाट आएका नागरिक, गर्भवती, वालवालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्न आग्रह गर्दछु ।’
मुख्यमन्त्री शाहीले संक्रमण शुरु भैहालेमा मृत्यूदरलाई सकेसम्म कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको वताए ।’
उनले दिनभर घरभित्र वस्ने र वेलुका चोक चौतारामा जम्मा हुनेहरुलाई वलप्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी वनाउन निर्देशन दिए । कर्णाली प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणवाट जोगाउन व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गरिरहेको र अपुग सामाग्रि आपुर्तीको लागि सामाजिक विकास मन्त्रालय मार्फत तयारी भईरहेको पनि जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।