चुडामणि तिमल्सिना
काभ्रे । बेथान्चोक गाउँपालिका–१, च्याम्राङ्बेसी आसपासका दुग्ध तथा खुवा उत्पादक किसानहरु ‘लक्डाउन’ का कारण मर्कामा परेका छन् ।
कृषि तथा पशुपालनमा आश्रित यस भेगका किसानहरु हाल यातायात तथा बजार बन्दका कारण आफुहरुले उत्पादन गरेको दूध एवं खुवा बजार नजादा ठुलो आर्थिक चपेटामा परेका हुन् ।
यस भेगका बासिन्दाहरुको आर्थिक उपार्जनको मुख्य श्रोत भनेको पशुपालन तथा दुग्ध जन्य बस्तु खुवा उत्पादन नै हो । आफुहरुले उत्पादन गरेको निर्यातित बस्तु खुवा बजारमा नजाने भएपछि हाल दैनिक ८० लिटर दूध खेर गैइरहेको थलागाउँका स्थानीय लिलावती कृषि तथा पशुपालन फर्मका संचादक डण्ड प्रसाद दाहालले बताए ।
उनले ९ वटा भैंसी र २ वटा गाई पालेका छन् भने दैनिक ८० लिटर दूध उत्पादन गर्छन् । उनी यस वडा कै बढी आम्दानी गर्ने पहिलो पशुपालक कृषक हुन् भने गाउँपालिका भित्र पाँचौं नम्बरमा पर्छन् ।
यसरी मेहनतका साथ उत्पादित दुध बिना मूल्य गुमाउनु पर्दा ठुलै क्षेती ब्यहोर्नु परेको उनको भनाई छ ।
उता झिङेका स्थानीय अल्कापुरी कृषि तथा पशुपंछि फर्मका संचालक हिरामणी सापकोटाले ऋण गरि ७ वटा लैना भैंसी पालेको बताउँछन् । सापकोटाले दैनिक ६० लिटर दूध उत्पादन गर्छन् । यति धेरै दुधको खुवा बजार निर्यात नहुँदा ठुलो आर्थिक घाटा हुँदा रिण कसरी तिर्ने भन्ने समस्याले सताएको बताउने सापकोटा खेर गइरहेको सो दूध गाई भैसीलाई खुवाउने गरेको बताउँछन् ।
उता फाईम्राङका रजन दाहालको पनि पीडा उस्तै छ जो दैनिक २९ लिटर दुध उत्पादन गर्छन् । यसरी उत्पादन भएको दुधको मूल्य नपाउँदा उनी पनि चिन्तित नै देखिछन् आर्थिक क्षेती व्यहोर्नु पर्दा उनी पिडामा छन् ।
त्यसैगरी अर्का भैरवस्थानका भैंसी पालक कृषक गणेश घिमिरेको पनि व्यथा उस्तै छ । २ ओटा भैंसी, १ ओटा गाई पालेका उनले पनि दैनिक २९ लिटर दूध उत्पादन गर्ने गरेको घिमिरे बताउँछन् ।
‘बजारमा खुवा जाँदैन । ऋण गरि भैंसी किनियो, साहुको पैसा कसरी तिर्ने ? तनावमा परेको छु ।’ उनले भने ।
सोही वडा लामिडाँडाका खुवा संकलक धनबहादुर घिसिङ आफुले दैनिक ३६ के.जी. खुवा संकलन गर्ने गरेको तर हाल भने ’लकडाउन’ सँगै ब्यापार चौपट भएको बताउदै यो विश्व संकट चाडै हटे संसारले मुक्ति पाउने आशा राख्छन् ।
यी माथी उल्लेखित पात्रहरु प्रतिनिधि मूलक पात्र मात्र हुन् । उता बेथान्चोक गाउँपािलका वडा नं १ वडा कार्यालयको तथ्यांक अनुसार ३ सय घरधुरी रहेको यस वडामा ६० वटा फर्म दर्ता भएका छन् जस मध्ये ५७ वटा भैंसी फर्म नै रहेका छन् ।
वडा कार्यालयमा संकलित तथ्यांक अनुसार सरदरमा प्रतिघरधुरी १० लिटरका दरले दूध उत्पादन हुने गरेको र सो अनुसार ३ सय घरधुरीबाट यहाँ दैनिक ३ हजार लिटर दूध उत्पादन हुने गर्छ ।
जसको स्थानीय बजार मूल्य प्रति लिटर ८० रुपैयाँ पर्न आउँछ, जस अनुसार वडाका कृषकहरूको दैनिक कूल घटा २ लाख ४० हजार रहेको वडा सचिव खेमराज दाहाल बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















