-
प्रतीक ङेसुर तामाङ
हामी उन्नत समाजको चाहना राख्छौं । विकसित, सभ्य, सुसंस्कृत, समृद्ध समाजको परिकल्पना गर्छौं । विभेद्रहित, शोषणरहित, उत्पीडनरहित समतामूलक समाजको सपना देख्छौं । हरेक हिसाबले सम्पन्न समाज निर्माणकै लागि हामी लागिरहेका हुन्छौं । खटिरहेका हुन्छौं । अनेक हिसाबले योगदानका लागि अग्रसर पनि हुन्छौं । जहिले पनि समुन्नतिको खोजी हाम्रो लक्ष्य हुन्छ ।
हामीले इच्छा राख्दैमा चाहेजस्तो उन्नत समाज यत्तिकै निर्माण हुँदैन । यसका लागि विभिन्न पूर्वाधारहरूको आवश्यकता हुन्छ । सबैभन्दा महत्वपूर्ण आधार विचार हो । सही दृष्टिकोण र चेतना हो । गतिशील, समयसापेक्ष, परिवर्तनशील विचारले नै कुनै पनि समाज र राष्ट्रलाई डोर्याउने गर्छ । यसका लागि वैचारिक आधार दरिलो हुनुपर्छ । विचार धारिलो, तेजिलो हुनु आवश्यक छ । जसले समाज विकासका हरेक चरणहरूलाई सम्बोधन गर्न सकोस् । भनिन्छ, ‘विचार बिजुलीभन्दा पनि अधिक वेगवान् हुनुपर्छ । जड विचारको कुनै अर्थ हुँदैन । उत्तम समाज निर्माणका लागि उत्तम विचार अनिवार्य सर्त हो । विचार सबै शास्त्रहरू भन्दा शक्तिशाली हुन्छ । किन कि शास्त्रले विचारलाई होइन, विचारले शास्त्रलाई निर्देशित गरिरहेको हुन्छ । यसर्थ उन्नत, सभ्य समाज निर्माणका सन्दर्भमा विचार महत्वपूर्ण आधार हो, जग हो, शक्ति हो । वैचारिक आधारविना समाज दिगो हुने कल्पनासमेत गर्न सकिँदैन ।
समाजका कतिपय अग्रज, बुद्धिजीवी, अभियन्ता, समाजसेवी र विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरिसकेका व्यक्तित्वहरूबाटै अरूले सिक्ने हो । उनीहरूको व्यवहार, जीवनशैली, अभिव्यक्तिबाटै विचार ग्रहण गर्ने हो । ऊर्जा प्राप्त गर्ने हो । उनीहरूको आदर्शलाई पछ्याउने हो । यसर्थ समाजमा चिनिएका, कहलिएका व्यक्तित्वहरूको हरेक क्रियाकलापको असर विचार निर्माणको सवालमा पनि परिरहेको हुन्छ । यसकारण आमनागरिकलाई जस्तो जथाभावी बोल्ने, हलुका ढङ्गले टिप्पणी गर्ने, त्यहीअनुसारको अभिव्यक्ति दिने र प्रतिक्रिया जनाउने छुट नेता, अभियन्ता, बुद्धिजीवीहरूलाई हुँदैन भनिएको हो ।
तर हाम्रा कतिपय राजनीतिक नेता तथा सामाजिक अभियन्ताहरूको अभिव्यक्ति सुन्दा, लेखरचनाहरू अध्ययन गर्दा, फेसबुक स्ट्याटस हेर्दा यो पक्षमा उनीहरू गम्भीर देखिँदैनन् । आफ्नो अभिव्यक्तिको के कस्तो असर पर्न सक्छ भन्ने सवालमा खासै हेक्का पुर्याउने गरेको पाइँदैन । तामाङ समाजका बारेमा उनीहरू सहजै बोलिदिन्छन्, ‘हामी केही गर्न सक्दैनौं, कमजोर छौ । अशक्त छौं । किन कि हामी बुद्धिहीन छौं ।’ कतिपयको अझ थप विश्लेषण पाइन्छ, ‘हामी निकम्मा छौं । अबुझ छौं । हुतिहारा, सीपविहीन, कलाविहीन छौं ।’ खुल्लमखुल्ला भाषणमै भन्ने गर्छन्, ‘तामाङहरू अझै बोक्रे चिन्तनमा छन्, दास मानसिकतामा रूमल्लिरहेका छन् । सानो स्वार्थका लागि जस्तोसुकै आपधारिक कार्यमा लाग्न पनि तत्पर हुन्छन् । सही गलत खुट्याउन सक्ने क्षमता नै छैनन् ।’
समाज बुझेका, राजनीति बुझेका, इतिहास दर्शनको गहिरो अभ्ययन गरेका, चिन्तनमनन, विश्लेषण, अनुसन्धानमा पाका दरिएका विद्वानहरूले समेत यस ढङ्गले समाजलाई चित्रण गर्ने गरेको पाइन्छ । समाजमा केही पनि नभएको, सबै विषय अस्तव्यस्त रहेको नकारात्मक धारबाट विषयको उठान गर्ने प्रवृत्तिको होडबाजी नै चलिरहेको भान हुन्छ । जानेर या नजानेर नकारात्मक कोणबाट धारणा राखेर आनन्द लिने विद्वानहरूको पङ्क्ति लामै देखिन्छ । ‘आशलाग्दा, भरपर्दा, इमानदार मान्छे कोही कतै छैनन्’ भन्ने एकाङ्गी निष्कर्ष उनीहरूको पाइन्छ । सामाजिक सञ्जालमै कतिपय निर्धक्कसाथ लेख्छन्, ‘अहिलेका पुस्ता कुनै विषयमा पनि गम्भीर छैनन् । गहिरो चिन्तन मनन र अध्ययनमा त रुचि नै राख्दैनन् । गीत सङ्गीतमा झुम्छन् । क्षणिक मनोरन्जनमा मात्रै तम्सिन्छन् । अमूल्य समय खेर फाल्ने गर्छन् ।’ कतिपय समाज रूपान्तरणका लागि अहोरात्र मरिमेट्नेहरूले समेत अति हलुका ढङ्गले यस्तो अभिव्यक्ति दिने गरेको पाइन्छ । युवा जमात्प्रति यसखालको टिप्पणी गरिएको छ ।
आफ्नो असफलताका लागि अरूलाई दोषी करार गरिहाल्ने प्रवृत्ति पनि छ । ‘अरूकै कारणले बिग्रयो, अरूकै कारणले दुःख पायो, अरूकै कारणले गलत ठाउँमा फस्यो, हामी त कहाँ यस्तो नचाहिने काम गर्न सक्छौं र ? हामीलाई त फसाइएको हो ।’ यसरी बुझ्ने र प्रचार गर्ने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । कहाँ, के, कस्ता कमजोरी भएछन्, त्यसलाई सुधार्न के कस्ता कदम चाल्नु पर्ला, सफलताका लागि र कमजोरी हटाउन आगामी दिनमा कस्ता रणनीति बनाउनुपर्ला’ भन्ने विषयमा नभएर असफलताको कारण अमूक जातीय समुदायलाई ठहर्याउने र एकैचोटि प्रहार गरिहाल्ने प्रवृत्ति पनि उत्तिकै देखिन्छ । केवल अरूलाई निरपेक्ष ढङ्गले विरोध गर्ने, आलोचना गर्ने, वैरी, उत्पीडक देख्ने र बुझ्ने अनि त्यहीअनुसारको दृष्टिकोण बनाउन प्रेरित गर्ने गरेको पाइन्छ । के यो वस्तुसङ्गत विश्लेषण हो ? यस खालको कमजोर मानसिकताको प्रदर्शनले हाम्रो समाज र नयाँ पुस्तालाई कहाँ पुर्याउला ? नकारात्मक खेती गरी सकारात्मक उब्जनीको अपेक्षा कसरी गर्न सकिन्छ ?
उनीहरूको भनाइको सार बुझ्ने हो भने भन्नुपर्ने हुन्छ, ‘अहिलेका तामाङ सबै लम्पटहरू हुन्, दास हुन् । आफूलाई चिन्न सकेकै छैनन् । अझै अरूको इशारामा नाचिरहेका छन् । चेतना शून्य छन् । ब्युँझिएकै छैनन् ।’ निरन्तर सार्वजनिक भइरहने यस्ता अभिव्यक्तिहरू सर्लक्क पत्याउने हो भने हाम्रो समाज हुतिहारा, अति कमजोर, आश गर्न सकिने विषय केही पनि नभएको निष्कर्ष निकाल्न करै लाग्छ । एकाध घटना र व्यक्तिको आधारमा समग्र समुदायलाई नै गलत चित्रण गर्ने, कमजोर देख्ने र सोहीबमोजिमको धारणा बनाउने प्रवत्ति फैलँदो छ । यो निकै डरलाग्दो प्रवृत्ति हो । यसबाट नयाँ पुस्ता उत्साहित हैनन्, निराशाको दलदलमा फस्ने प्रचुर सम्भावना रहन्छ ।
‘जताततै कमजोर, भताभुङ्ग, लथालिङ्ग, अस्तव्यस्त छ’ भन्ने खालका एकोहोरो टिप्पणीले समुदाय र समाजका बारेमा भर्खरभर्खर विचार ग्रहण गर्दै गरेको किशोरहरूको मस्तिष्कमा के कस्ता असर पर्ला ? उनीहरूले कस्ता विचार ग्रहण गर्लान् ? आफ्नो समुदायलाई कुनै आश पनि नभएको सास पनि नभएको समुदायका रूपमा बुझि दिएमा त्यसको परिणाम के होला ? जुन पुस्ताले भोलि यो समाजको नेतृत्व गर्नुपर्नेछ त्यही पुस्ता हिनताबोधको खाडलमा निस्कनै नसक्ने गरी भास्सिन पुगेमा त्यसको जिम्मेवारी को हुने ? नयाँ पुस्तालाई त जोश, जाँगर, उमङ्ग, उत्साह दिनुपर्छ । आशा जगाउनुपर्छ । ताकि उनीहरूलाई केही गर्ने जाँगर चलोस् । हौसला चलोस, उनीहरू नवीन सिर्जनाका लागि उत्प्रेरित होस् ।
एक दुई घटना नकारात्मक होला । कसैले कमजोरी गरेका पनि होलान् । हुनु नपर्ने केही घटनाहरू भइरहेका होलान् । गर्नै नहुने काम कसैले कतै गरिरहेका पनि होलान् । छिटपुट घटनाकै आधारमा समाज उल्टो दिशामा चलिरहे झैं निष्कर्ष निकाल्ने र हल्ला गर्ने गलत प्रवृत्तिले कसैलाई पनि कहीँ पु¥याउँदैन । समाजको मूल चरित्र नै यस्तै हो भन्दै हतारिएर सामान्यीकरण गरिहाल्ने प्रवृत्तिबाट मुक्त हुँदा नै राम्रो हुन्छ । हामीमाथि इतिहासमा चरम विभेद् भएकै हो । हाम्रो सभ्यता, पहिचान, स्वाभिमानमाथि प्रहार भएकै हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायत हरेक क्षेत्रमा दलनमा पारिएकै हो । तर वर्तमानमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक हरेक क्षेत्रमा हामी शून्यमा छैनौं । बिलकुल रित्तो, खाली, अति निराश भइहाल्नु अवस्था हुँदै होइन ।
‘हामीलाई जहिले पनि विभेदै मात्र गरिरह्यो । उत्पीडनमा पारिरह्यो । हामीलाई हेर्ने, बुझ्ने अमूक समुदायको दृष्टिकोण सर्वथा गलत छ’ भन्ने तर्क पनि व्यावहारिक होइन । ‘यो देशका सबै नियम कानुन, हाम्रा विरुद्धमा लक्षित छन् । हाम्रो प्रगति उन्नतिको बाधक हुन्’ भन्नु पनि जबर्जस्ती तर्क मात्रै हो । इतिहासमा जे जस्तो भएपनि वर्तमानमा राज्यले उपलब्ध गर्ने कतिपय सुविधाहरूसमेत हामीले समुदायको हितका लागि सदुपयोग गर्न सकिरहेका छैनौं । इतिहासको चस्माले वर्तमान हेर्दा सही पहिचान नहुन सक्छ ।
खराब विचार या दृष्टिकोणको सिकार हुनु भनेको मानिस अन्धकारमा जाकिनुसरह हो । यस्तो मानिस लक्ष्यमा पुग्न सक्ने परिकल्पना पनि गर्न सकिँदैन । व्यक्ति या समाजको बाहिरी रूप त उसले भित्र ग्रहण गरिरहेको विचारकै प्रतिविम्ब मात्र हुन् । यसर्थ उत्तम विचार भएमा मात्रै समाजका हरेक गतिविधि र क्रियाकलाप सही हुन सक्छ । त्यसले सही मार्गमा अघि बढ्न प्रेरित गर्ने गर्दछ । परिकल्पना गरिएजस्तो समाज निर्माणमा बल प्रदान गर्न सक्छ ।
अब त आफूसँग भएको ज्ञान, क्षमता र हैसियत सीप देखाउनुपर्छ । यसका लागि प्रतिभा भएकाहरूलाई सबैले प्रेरित गर्नुपर्छ । ‘हामी पनि केही हौं र गर्न सक्छौ’ भन्ने भावनाको विकास गर्नुपर्छ । युवा पुस्ताको उच्च मनोबलका लागि वातावरण निर्माण गर्नुपर्छ । निराशा होइन, आशा जगाउनुपर्छ । कमजोर मनमेबलको जगमा कसरी सबल समाज, उन्नत, विकसित समाजको विकास गर्न सकिन्छ र ? हरेक क्षेत्रमा प्रतिभाहरू जन्मिरहेका छन् । योग्य, क्षमतावान्, विभिन्न विषयमा दक्ष र सीपयुक्त जमात बढ्दो छ । यति मात्र नभएर ज्ञानविज्ञानमा चासो राख्ने र आफ्नो दक्षता सिद्ध गर्नेहरू थुप्रै छन् । उनीहरूलाई उचित अवसरको खाँचो छ । यसका लागि सुस्पष्ट योजना आवश्यक छ ।
तामाङ समुदायका नयाँ पुस्ता जागरुक छन् । सचेत छन् र चेतनशील छन् । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक हरेक क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्ने पुस्ता जन्मिँदैछन् । ‘भरोसा गर्न योग्य जमात बिस्तारै देखिँदैछन्’ भन्ने कुरामा विश्वास गर्न किन धर्मराउने ? उनीहरू भनिरहेका छन्, ‘हामी पनि गर्न सक्छौं । अब हाम्रो इतिहास हामी सबै कोर्छौं । आफ्नो समाजलाई हामी आफै सिङ्गार्न सक्छौं । आकार दिन सक्छौं । गति दिन सक्छौ र नेतृत्व प्रदान गर्छौं । समृद्धि र उन्नतिको रोडम्याप तयार गर्न सक्छौं । असल संस्कार निर्माण गरेर समाजलाई अनुशासित र सुसज्जित बनाउन सक्छौं । आपसी सद्भाव, सहिष्णुता र सहयोगी भावनाको विकास गदैै समाजलाई गति दिने मूल्य मान्यताको स्थापना गर्न सक्छौं ।’ यसको अर्थ तामाङ समुदायको गौरवको रक्षा गर्न सक्ने दस्ता तयार भइसकेको छ । यस्ता युवाहरूको मानमर्दन हुने र उनीहरूको भावनामा चोट पुग्ने खालका अभिव्यक्ति दिनुअघि हरेकले सोच्नुपर्छ ।
उग्रता प्रदर्शन गर्ने, आक्रोश पोख्ने, केवल आलोचना गर्ने, वैरी मात्रै देख्ने मानसिकताले समाजलाई अघि बढाउन सम्भव छैन । यो त दुर्बल मानसिकताको परिचय हो । इल्नोर रुजबेल्टको भनाइ उद्धृत गर्ने हो भने ‘महान दिगागहरू विचारको छलफल गर्छन्, मध्यम दिमागहरू घटनाहरूको छलफल गर्छन् र सानो दिमागहरू मानिसको बारेमा छलफल गर्छन् ।’ मूल सवाल भनेको हामीले कस्तो खालको विचार निर्माण गर्ने र त्यसका लागि के कस्ता सचेतता अपनाउने भन्ने नै हो । ताकि हाम्रा नयाँ पुस्ता कुनै पनि गलत विचार र दृष्टिकोणको दलदलमा नफसून् र पथभ्रष्ट हुनबाट जोगिन सकुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















