काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी बनाउन क्वारेन्टाइन बसाइ लम्ब्याउने निर्णय गरेको छ । जारी लकडाउनलाई दोस्रो पटक थप्दै वैशाख ३ सम्म पुर्याएलगत्तै मन्त्रिपरिषद्को सोमबारको बैठकले क्वारेन्टाइन बसाइ पनि लम्ब्याउने निर्णय गरेको हो।
अहिले विदेशबाट आउने र नेपालमा बसेका सम्भावित कोरोना संक्रमितलाई सरकारले अहिले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेको छ। तर यसलाई पनि लम्ब्याएर कम्तीमा २१ दिन पुर्याइएको हो। अब १४ दिन क्वारेन्टाइनमा बसेपछि निस्किएका व्यक्तिले थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले १४ दिन क्वारेन्टाइनमा बसेपछि थप सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याइएको जानकारी दिए। उनले होम क्वारेन्टाइनमा बस्नेको अनुगमन स्थानीय तहले गर्ने पनि जानकारी दिए।
कोरोना भाइरस नेपालमा पनि दोस्रो चरणमा पुगेसँगै सरकारले सजगता अपनाउँदै अझै कडा नियम लागू गरेको हो। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले क्वारेन्टाइन बसाइलाई १४ दिनबाट बढाएर २१ दिन पुर्याइएको जानकारी सोमबार दिएका छन्।
‘क्वारेन्टाइनको अवधि १४ दिनबाट बढाइएको छ। यसबारेमा मन्त्रिपरिषद्ले निर्णय लिएको छ’, उनले भने, ‘कोरोना नियन्त्रणका लागि कडा आचारसंहितासहित क्वारेन्टाइन बसाइ प्रभावकारी हुन्छ। त्यसैले यसमा निर्णय लिइएको हो।’
१४ दिन क्वारेन्टाइनमा बसेका केहीमा कोरोना संक्रमण भेटिएपछि सरकाले यो अवधिलाई बढाएको हो। यसअघि आइतवार नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले क्वारेन्टाइन अवधि २१ दिन बनाउन निर्देशन दिइसकेका छन्।
‘क्वारेन्टाइन अवधि कम्तीमा २१ दिन कायम गरौँ’, उनले सुदूरपश्चिमबासीलाई सम्बोधन गर्दै आइतबार भनेका थिए, ‘२१ दिन लामो क्वारेन्टाइन बसाइले कोरोना संक्रमणको जोखिम निकै कम गर्छ।’
आइतवारै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले राहत वितरण र क्वारेन्टाइनको मापदण्डमा सुधार गर्ने निर्णय लिएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















