काभ्रे । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन गर्ने निर्णय गरेको करिब २ हप्ता हुँदासम्म पनि काभ्रेको खानीखोला गाउँपालिकामा भने आज (सोमबार) मात्र जनचेतना जगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालको अध्यक्षतामा बसेको स्थानीय विपद व्यवस्थापन समितिको बैठकको पहिलो निर्णयमा नै सचेतना जगाउने उल्लेख गरेको छ ।
खानीखोला गाउँपालिकाका जनतालाई कोरोना भाइरसको विषयमा सचेतना जगाउने जिम्मा स्थानीय सरकारको भएता पनि आजसम्म गाउँपालिकाले कुनै अभियान नचलाएको उपाध्यक्ष रुकमिणी गुरुङले स्वीकारेकी छिन् ।
तेमाल अनलाईनसँगको कुराकानीमा उपाध्यक्ष गुरुङले आज बस्ने विपद् व्यवस्थापन समितिको बैठकले नै सबै योजना बनाउने बताएकी थिइन् ।
अब भने गाउँपालिका योजनाबद्ध रुपमा अगाडि बढ्ने एक वडा अध्यक्षले बताए । गाउँपालिकामा औषधिको पर्याप्तता भएपनि स्वास्थ्य सामग्री भने न्यून रहेको उपाध्यक्ष गुरुङले बताएकी छिन् । थर्मोमिटिरको भरमा असुरक्षित स्वास्थ्य जाँच गर्नुपर्दा निकै जोखिम महासुस भएको एक स्वास्थ्यकर्मीले तेमाल अनलाईनसँग बताए ।
यस गाउँपालिकामा १८ सय २१ जनाको स्वास्थ्य जाँच गरिसकेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।
खानीखोला गाउँपालिकाको निर्णय यस्तो छः
१. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका भरि जनचेतना जगाउने, आवश्यक प्रचारप्रसार गर्ने, यस कार्यमा सम्पूर्ण स्वास्थयकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारहिरु, शुरक्षकर्मीहरु, शिक्षक, बुद्धिजीविहरु सबै समन्वय गरी अगाडी बढ्ने । गाडी प्रयोग गरी माइकिङ माफृत प्रचार प्रसार गर्ने ।
२. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई आवश्यक सहयोग गर्न इच्छुक संघसंस्था र दाताहरुलाई उपलब्ध गराउने सहयोग गाउँपालिकासँग समन्वय गरी वडा अध्यक्ष र सदस्यको रोहवरमा वितरण गर्ने गरी एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने ।
३. यस खानीखोला गाउँपालिका भित्र खाद्यान्न अभाव देखिएकोले आवश्यक खाद्यान्न दाल, चामल, नून, तेल पिठो लगायतका समान ल्याउनका लागि ढुवानी गर्न गाडीलाई गाउँपालिकाले पास दिन व्यवस्था मिलाउने ।
४. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काल चाल्नुपर्ने कदम हेल्थडेस्क सञ्चालन भइरहेको र हेल्थठेस्कको लागि अवाश्यक सामाग्री मास्क, सावुल, सेनिटाइजर लगायत सामाग्री खरिद गरि सातवटै वडामा उपलब्ध गराउने ।
५. विवाह, ब्रतबन्ध, छेवार, पास्नी लगायतका धार्मिक संस्कारसँग सम्बन्धित कृयाकलाप गरि भिडभाड हुने व्यवस्थ ागर्न नदिने व्यवस्था मिलाउने ।
६. उपल्लो।अन्य गाउँपालिकासँग समन्वय गरी आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउने ।
७. बैदेशिक रोजगारीबाट फर्किएका यस गाउँपािलका भित्रका १२ जना विभिन्न देशबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बसाउन पहल गर्ने र निजहरुको स्वास्थ्य अवस्थाबारे निगरानी राख्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















