काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले अबको दुई साता नेपालीको लागि चुनौतीपूर्ण हुने बताएका छन् । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारको धाराणा राख्न प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
‘अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुनेछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेकोछ ।’
सम्बोधनको क्रममा ओलीले लकडाउनको कारण दुई साता नेपाली नागरिक घरभित्रै बस्नु परेको विषयमा आफू संवेदनशील रहेको बताएका छन् । नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए ।
‘दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु ।’ प्रधानमन्त्री ओलीले भने, ‘दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीका पढाइ छुटेको छ ।’
उनले विगतको आफ्नो जेल बस्दाको दिन समेत सम्झिदै अगाडि भने, ‘जेलमा यन्त्रणपूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबास बस्दाको कठीनाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने सबैलाई थाहा छ ।’
लकडाउनकै कारण महामारी फैलन नदिने सरकारको प्रयासमा ठूलो सहयोग पुगेको पनि उनले बताए ।
उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको उनले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।