काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वर्तमान अवस्थामा सरकारले चालेको कदम र लिएको नीति सही रहेको निश्कर्ष निकालेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकले लिएको निर्णयको बारेमा जानकारी गराएका छन् ।
कोरोना भाइरस नेपालमा संक्रमण भएपछि चीनमा खरिद गरेको स्वास्थ्य सामग्रीकोबारेमा प्रश्न उठेपछि सचिवालय बैठकको माग गरेको थियो । सोही अनुसार आज सचिवालयको बैठक बसको थियो ।
के भयो त बैठकमा ? यस्तो छ विज्ञप्तिः
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो ।
बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभयो ।
बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आ–आफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।