खगेन्द्र हमाल
सुर्खेत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशभरी लकडाउन गरिएको बेला भैरवी गाउँपालिकाले संचालन गरेको एम्बुलेन्सले बिरामीको नाममा यात्रु ओसारपसार गरेको छ । मंगलवार पाँच जना यात्रु बोकेर नेपालगन्ज जान लागेको गाउँपालिकाको भे १ झ २८९ नम्बरको एम्बुलेन्सलाई दैलेख सुर्खेत सिमानामा रहेको रानीमत्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज बिरामी लिन जान लागेको भनिएको सो एम्बुलेन्सले नेपालगन्ज घर भएका ४ जनालाई समेत लिएर जान लागेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ । ५ जना यात्रुमध्ये एकजना एम्बुलेन्स चालकका सहयोगी र ४ जना नेपालगन्जका कपडा व्यापारी रहेको र उनीहरु व्यापारको शिलशिलामा दैलेख आएको वुझिएको छ ।
वडाध्यक्ष देवी भण्डारीको सल्लाहमा सो एम्बुलेन्सका चालक हेमराज रिजालले भैरवी गाउँपालिका वडा नंं. ३ का ती यात्रुहरुलाई ८ हजार रुपैंयामा नेपालगन्ज पुर्याईदिने शर्तमा लगिएको तिमध्ये एक यात्रुले बताएका छन् ।
वडाध्यक्ष देवी भण्डारीको सिफारिस पत्र
यात्रुसँगै वडाध्यक्ष भण्डारीले १ जना बिरामी र ३ जना कुरुवासहित नेपालगन्ज उपचारमा जानुपर्ने भन्दै सिफारिस पत्र पनि दिएकी छिन् ।

वडाध्यक्ष भण्डारीले बिरामी भएपछि नेपालगन्ज जानुपर्ने भएकाले एम्बुलेन्स चाहियो भनेर आएपछि अध्यक्ष प्रेमवहादुर वुढासँग सल्लाह लिई सिफारिस दिईएको बताईन् । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिं थापाले एम्बुलेन्स चालकलाई निर्देशन गर्दागर्दै पनि कमजोरी भएको स्वीकारेका छन् । उनले नेपालगन्जवाट केहि स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएकाले एम्बुलेन्स पठाईएको जिकिर गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष बुढाले वडाध्यक्षको विश्वासमा बिरामी भए सिफारिस दिने सल्लाह दिएको तर प्रहरीले व्यापारी रहेको जानकारी दिएपछि आश्चर्यमा परेकाले कमजोरी हुन पुगेको स्वीकार गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बन्दाबन्दीको वेला एम्बुलेन्समा यात्रु वोकेर आएको हुँदा नियन्त्रण लिईएको र यस वारेमा गाउँपालिकालाई पत्र लेखि जवाफ माग्ने र त्यसपछि आवश्यका प्रक्रियामा जाने जानकारी दिए ।

Comments

comments