काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई लायन्स क्लव अफ काठमाडौँ परोपकारले सहयोग गरेको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विहिबार नेकपाका नेता लेखराज गौतमको नेतृत्वमा उक्त सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
गाउँपालिका कार्यालयमा नै पुगेर नेता गौतम, प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतम समेतको उपस्थितिमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण भएका स्वास्थ्य सामाग्रीहरुमा पिपिई १५ थान, ज्वरो नाप्ने डिजिटल थर्मोमिटर २०० थान, पुनः प्रयोग गर्न मिल्ने मेडिकल पञ्जा २२५ थान, डिस्पोजल पञ्जा १०० थान, मेडिकल मास्क २०० थान, कपडाको मास्क ३५० थान, सेनिटाइजर १० लिटर रहेका छन् । जसमध्ये कपडाको मास्क ३०० थान प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतमले सहयोग गरेका हुन् भने बाँकी सामाग्री लायन्स क्लव अफ काठमाडौँ परोपकारले सहयोग गरेको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले कोरोना महामारीबाट बच्न चौरीदेउराली गाउँपालिकामा संस्थागत सहयोग यो नै पहिलो भएको बताए । उनले सहयोगको लागि लाईन्स क्लब र प्रभा एलुम्नाई प्रति धन्यवाद समेत व्यक्त गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेकपाका नेता गौतमले गाउँपालिकाको हरेक दुःखसुखमा आफू सधैंसँगै रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले गाउँपालिका भित्रका जनताको अहिलेको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।
त्यसैगरी स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था लायन्स क्लव अफ काठमाडौँ परोपकारकी संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डेले आफ्नै गाउँपालिकामा यस महामारीमा सानो नै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















