महाभारत । जिल्लाको महमाभारत गाउँपालिकाले आफ्नो एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध लगाएको छ । शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता रविन मोक्तानले जानकारी दिएका हुन् ।
प्रवक्ता मोक्तानका अनुसार पसलहरु खोल्ने समय समेत निर्धारण गरेको छ । ‘गाउँपालिकाभित्रका सबै किमिसका पसलहरु विहान ८ बजेदेखि १० बजेसम्म र दिसँसो ३ बजेखि ५ बजेसम्म मात्रै खुल्न पाउने निर्णय गरेका छौं ।’ प्रवक्ता मोक्तानले भने, ‘यस्तै पालिकाभित्रका पसलहरुको नियमित अनुगमन गर्न उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिलाई थप प्रभावकारी बनाउने र पालिकाभित्र ५ जना भन्दा बढी संख्यामा जमघट गर्न नदिने निर्णय गरेका छौं ।’
त्यसैगरि बैठकले गाउँपालिकाभित्र कोहि विदेशबाट आएका छन भने तत्काल खबर गर्न पनि सबैसँग आग्रह गरेको छ । खाद्य संकट हुन नदिन आपूर्ति ब्यवस्थालाई सहज बनाउने निर्णय पनि भएको मोक्तानले बताए ।
फूड बैंक स्थापना गर्ने
बैठकले गाउँपालिकामा फूड बैंक स्थापना गर्ने निर्णय गरेको छ । ‘पालिकाभित्र रहेका गरिब, दैनिक ज्याला मजुरी गर्ने र विपन्न घरपरिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।’ प्रवक्ता मोक्तानले भने, ‘अब दाताहरुले फूड बैंकमा राहत उपलब्ध गराउनुहुन हामी अनुरोध गर्न चाहन्छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















