काभ्रे । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सांसद गोकुल बाँस्कोटा र अर्का सांसद गंगाबहादुर तामाङ (बमध्वज)को पहलमा काभ्रेका सबै स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रम जारी रहेको छ । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरुमा आवश्यक सामग्रीहरु सांसदद्वाय बाँस्कोटा र बमध्वजले वितरण गर्न थालेका हुन् ।
स्वास्थ्य सामग्री वितरण गर्ने जिम्मा नेकपा निकट भातृसंगठनहरु राष्ट्रिय युवा संघ, काभ्रे र अनेरास्ववियू, काभ्रेलाई जिम्मा दिएको छ । वितरित सामग्रीहरुमा पि.पि.इ., सेनिटाइजर र मास्क रहेको छ ।
हालसम्ममा कहाँ कहाँ वितरण गरियो ?
हालसम्ममा ८ वटा स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण भइसकेको अनेरास्ववियूका केन्द्रिय सदस्य तथा नेकपा काभ्रे जिल्ला समिति सदस्य जेनिश लामाले तेमाल अनलाइनलाई जानकारी दिए । आफूहरुले प्रत्येक स्थानीय तहको केन्द्रमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लामाले बताए ।
उनका अनुसार चौरीदेउराली गाउँपालिकालाई २ सय पिस मास्क, ६ पिस पिपिई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको उनले बताए ।
त्यसैगरि भुम्लु गाउँपालिकालाई २ सय पिस मास्क, ६ थान पिपिई हस्तान्तरण गरिएको छ र उक्त स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठलाई गाउँपालिका कार्यालयमै हस्तान्तरण गरिएको थियो ।

बेथानचोक गाउँपालिकालाई २ सय पिस मास्क, ६ पिस पिपिई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई उक्त स्वास्थ्य सामग्री हस्तन्तरण गरिएको थियो ।

मण्डनदेउपुर नगरपालिकालाई ५ सय मास्क, १२ थान पिपिई हस्तान्तरण गरिएको छ । नगर प्रमुख टोकबहादुर वाईबालाई नगरपालिका कार्यालयमै उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

पाँचखाल नगरपालिकालाई ५ सय पिस मास्क, सेनिटाईजर ३९ पिस र १८ पिस पिपिई हस्तान्तरण गरिएको छ । नगरपालिका कार्यालयमै पुगेर नगर प्रमुख महेश खरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।


पनौती नगरपालिकालाई ४ सय मास्क, २८ पिस सेनीटाइजर, १२ थान पिपिई हस्तान्तरण गरिएको छ । उक्त सामग्री नगर प्रमुख भिम न्यौपानेलाई कार्यालयमै पुगेर हस्तान्तरण गरिएको थियो ।

बनेपा नगरपालिकालाई मास्क ४ सय पिस, सेनिटाइजर ३७ पिस, पिपिई ३० पिस हस्तान्तरण गरिएको छ । नगरपालिका कार्यालयमै पुगेर नगर प्रमुख लक्ष्मी नरसिं बादेलाई हस्तान्तरण गरिएको थियो ।

धुलिखेल नगरपाकिलाई ७ सय पिस मास्क, ७५ पिस सेनिटाइजर र ७५ पिस पिपिई हस्तारुन्तरण गरिएको छ । स्वास्थ्य सामग्री नगर प्रमुख अशोक व्याञ्जुलाई कार्यालयमै पुगेर हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि भोलि नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकालाई पनि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिने विद्यार्थीका केन्द्रिय सदस्य जेनिश लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।