चुडामणि तिमल्सिना
३० चैत्र २०७६
काभ्रे । हरि सर, सबैको गुरु, सबैको प्ररणाको स्रोत । निम्नवर्गीय परिवारमा स्व. बाबू प्रेम प्रसाद घिमिरे तथा आमा अम्बिका घिमिरेको कोखबाट च्याम्राङ्बेंसीको गोठेडाँडामा २०२२ साल माघ ५ गते जन्मिएका हरि घिमिरे बेथान्चोक गाउँपालिका वडा नं. १ मा जेन्मेका हुन् ।
शैक्षिक आन्दोलनमा उनी च्याम्राङ्बेंसी कै प्रेरणाका स्रोत मात्र होइन, शैक्षिक धरोहरको रुपमा स्थापित उदाहणीय व्यक्तित्व पनि हुन् ।
सरल स्वभाव, मृदुभाषि, मेहनती तथा लगशिलताका धनी हरिसरले ९ वर्षको उमेरमा २०३१ सालमा तत्कालीन श्री चक्रेश्वर प्राथमिक विद्यालयमा भर्ना भइ औपचारिक शिक्षाको थालनी गरेका थिए ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको उनको वाल्यकाल घाँस, दाउरामा नै बित्ने गर्दथ्यो । बिहान उठ्यो, नाम्लो डोरी हँसिया बोक्यो, सधैको झैं, लागथ्यो आफ्नै नियमित कर्मतिर, उहीं रतनको पाखामा ।
घाँस जाँदा होस् या दाउरा, कापी, किताबसँगै हुन्थ्ये हरिसरको । घाँसे पाखामै पढ्ने अनि गृहकार्य गर्ने गर्दथे उनी । यसरी आज–भोलि गर्दा गर्दै उनले कक्षा ५ सम्मको अध्यन २०३५ सालमा स्थानीय चक्रेश्वर प्राथमिक विद्यालयबाट पुरा गरे पछि भने उनी के गर्ने, के नगर्ने, भन्ने दोधारमा परे ।
धेरै सोचे, मनन् गरे, पढ्ने हो भने भाग्नु बाहेक अर्को विकल्प नदेखे पछि उनी गाउँ भन्दा ४ घण्टाको दुरीमा रहेको दक्षिण ललितपुर स्थित गोटिखेलको तत्कालीन श्री महांकाल माध्यामिक विद्यालयमा भागेर भर्ना हुन पुगे ।
यसरी ०३६ सालमा घरबाट भागेर कक्षा ६ र ७ नपढी कक्षा ८ मा भर्ना भइ माध्यामिक तहको पढाई सुरु गरे हरिसरले । दिन बित्दै जाँदा, संघर्ष गर्दै अगाडि बढिरहे उनी । बिहानी घामलाई बादलले छेक्ने प्रयास गरे झैं दुःख अनि पिडाका साथ लुकामारी खेल्दै कहिले सेपिलो त कहिले परिलो हुँदै उनी निरन्तर अघि बढिरहे ।
०३९ सालमा उनले माहांकाल माध्यामिक विद्यालयबाट दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा पनि पास गरे । यसरी उनले तत्कालिन समय एकाधहरुको वीच आफु प्रवेशिका परिक्षामा उतिर्ण हुँदाको क्षण भने अत्यन्तै अवस्मरणिय रहेको बताउँछन् हरि सर । ‘कर्म भन्दा महान र भाग्य भन्दा अगाडि कोहि नहुने रहेछ ।’ उनी बताउछन् ।
प्रवेशिका उतीर्ण पछिको समय उनले पढाईमा दिन सकेनन् । निम्न वर्गीय परिवार, त्यसैले आफ्नो परिवारलाई समय दिनु पर्ने अवस्था उनकै काँधमा आयो ।
त्यसपछि उनले शिक्षक बन्ने सपना देखे । शिक्षाको दियो बन्ने उद्देश्य राखे । फलस्वरुप परिवारबाट पनि उनलाई साथ पायो । त्यसपछि गाउँकै श्री चक्रेश्वर निमाविमा ०३९ साल फल्गुण देखी स्वंसेवक शिक्षकको रुपमा शिक्षण सुरु गर्न थाले ।
एक वर्षपछि हरिसरले २०४० साल श्रावण १६ गतेबाट तत्कालीन संचालक समितिको निर्णयबाट प्राथमिक तहको शिक्षकका रुपमा नियुक्ति पाए ।
यसरी जागिरे जीवनमा प्रवेश गरि सक्दा समेत आफुले स्वअध्ययनलाई जारी राखेको बताउने उनले ०४५ सालमा प्रमाणपत्र तह पनि पास गरि सकेका थिए ।
०४६ सालको राजनैतिक परिवर्तन पश्चात जिल्लाका प्रमुख शहरहरुमा कलेजहरु स्थापना हुन थालेपछि ०४८ सालमा बनेपाको चैतन्य बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भइ ०५० सालमा स्नातक तह पूरा गरे उनले ।
’बिस्तार गए अवश्य पुगिन्छ’ भन्ने सिद्धान्तलाई कडिका रुपमा अंगिकार गरेका घिमिरे ०६० साल देखि श्री चक्रेश्वर उच्च माध्यामिक बिद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत छन् ।
यसरी आफ्नो ५५ वर्षीय उमेर मध्ये ३६ वर्ष गाउँको एउटै बिद्यालयमा सेवा गर्न पाउनुले आफुलाई गर्व महसुस भएको बताउँछन् हरि सर । यस क्षेत्रका उदाहरणीय शैक्षिक धरोहरकारुपमा स्थापित, सबैका गुरु, प्रेरणा स्रोत एवं, सादा जीवन उच्च बिचारका अनुयायी हरि सर च्याम्राङ्बेंसीमा सफल व्तक्तित्वका रुपमा स्थापित भएका छन् ।
(यो सामाग्री श्री चक्रेश्वर उमाविका प्रधानाध्यापक हरि घिमिरसँगको कुराकानीमा आधारित रहि तयार परिएको हो ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















