३ बैशाख २०७७, तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सेल्फ क्वारेन्टाइनमा बसेका १८ जनाको र्‍यापिट टेष्ट गरेको छ । आज (बुधबार) गरेको र्‍यापिट टेष्टमा सबैजनाको रिपोर्ट नेटेटिभ आएको तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख पाठकका अनुसार चैत्र यता विदेशबाट आएका मानिसहरुको मात्र र्‍यापिट टेष्ट गरिएको थियो । चैत्र १ गते यता विदेशबाट आएका तेमालमा जम्मा १८ जना व्यक्तिहरु सम्पर्कमा आएको स्वास्थ्य प्रमुख पाठकले जानकारी दिए ।
उनका अनुसार आज परिक्षण गरिएकाहरुमा वडा नं. १ मा ४ जना वडा नं. २ मा ५ जना, वडा नं. ४ मा १ जना, वडा नं. ६ मा २ जना, वडा नं. ७ मा २ जना, वडा नं. ८ मा १ जना र वडा नं. ९ मा २ जना रहेका छन् ।
‘उनीहरुलाई हामीले घर–घरमै पुगेर परिक्षण गरेका छौं ।’ स्वास्थ्य शाखा प्रमुख पाठकले भने, ‘१८ जनाको र्‍यापिड टेष्ट गर्‍यौं । सबैको रिपोर्ट नेगेटिभ छ ।’
र्‍यापिट टेष्ट गर्न विदेशबाट आएका व्यक्तिहरुको घर–घरमा स्वास्थ्यकर्मीहरु पुगेका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेले तेमालको लागि २० वटा आरडिटी किट उपलब्ध गराएपछि आज घरघरमै परिक्षण गर्न स्वास्थ्यकर्मीहरु पुगेका हुन् । तेमालमा अहिलेसम्ममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण कुनै पनि व्यक्तिसँग नपाइएको उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।