४ बैशाख २०७७
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन्। बुधबार स्थानीय तहका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समार्फत कुरा गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताए।
मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध मापदण्ड अनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए। मुख्यमन्त्री पौडेलले चितवन भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत कुराकानी गरेका हुन्।
उनले भने, ‘स्थानीय सरकारसँग भएको पैसा सरकारकै हो, त्यो खर्च गर्नुपर्छ, अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ।’ महामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरे। यसैगरी मुख्यमन्त्री पौडेलले लकडाउनको अवधिमा किसानहरुलाई चाहिने मल, बिउबिजन उपलब्ध गराउने बताएका छन्। कोरोनाविरुद्ध मापदण्डअनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताएका हुन्।
पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे। लकडाउन सुरु भएको पर्सिपल्टबाटै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत नभएको उल्लेख गरे। उनले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताए।
कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनै पनि विकल्प नभएकाले भावनामा बगेर यस बाहेकको अन्य विकल्प खोज्न तिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा माहामारीको रुपमा आउन नदिन निर्मम भएर लकडाउन कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो। पौडेलले मंगलबार मकवानपुरको मनहरि गाउँपालिकाका प्रमुख, चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख, धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भीमेश्वर नगरपालिका प्रमुखसँग पनि भिडियो कुराकानी गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















