४ बैशाख २०७७, तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले तेमालमा प्रवेश गर्ने मुख्य ९ नाकालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै तेमाल गाउँपालिकाले ती नाकाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएका हुन् ।
कोरोना भाइरसको संक्रम रोकथाम तथा नियन्त्रणका क्रममा काभ्रेमा र्‍यापिड डाइनोस्टीक टेस्ट गर्दा पोजिटिभ रिपोर्टलाई समेत मध्य नजर गरी ती नाकाहरु बन्द गर्ने निर्णय भएको तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् ।
गाउँपालका अध्यक्ष तामाङले जारी गरेको सूचनामा गाउँपालिका भित्र अनावश्यक आवत जावत नगर्ने र गर्न नदिन भनेको छन् ।
यस्तो छ सूचनाः
विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थिति एवं काभ्रेपलाञ्चोक जिल्लामा देखिएको Rapid Diagnostic Test को अवस्थालाई समेत मध्यनजर गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तपशिल बमोजिम गर्ने गरी गाउँपालिकाबाट यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. यस गाउँपालिका भित्र अनावश्यक आवत जावत नगर्ने र गर्न नदिने ।
२ं यस गाउँपालिामा बाहिरबाट तरकारी फलफूल र मासुजन्य वस्तुहरु आयात गर्न पूर्ण रोक लगाउने र आफ्नै करेसाबारीमा तरकारी लगायतमा अन्य खाद्यन्न उत्पादन गर्ने ।
३. यस गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूजापाठ लगायतका अन्य कार्यहरु पूर्ण रुपमा बन्द गर्ने ।
४. गाउँपालिका भित्र प्रवेश गर्ने विशेष गरी बोहोरेदभान, खहरेघाट, पचवारघाट, तित्रीटार, माम्दीबेसी पुलबजार, भोज्र्याङबेसी, थिल्वारबेसी, गिम्दीबेसी र कालिमाटी प्रवेशद्वार नाकाहरु पूर्ण रुपमा बन्द गर्ने ।
५. यस गाउँपालिका भित्र सञ्चालनमा रहेका स्थानीय पसलहरुमा सामाजिक दुरी कायम गरी हरेक दिन विहान ६ देखि ९ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६ बजेसम्म खाद्य सामाग्री विक्रि वितरणको व्यवस्था गर्ने ।
६. राहत सामाग्री वितरण गर्दा भिडभाड हुन नदिई सामाजिक दुरी कायम गर्ने ।
७. चियापसल र स्थानीय होटलहरु पूर्ण रुपमा बन्द गर्ने ।
८. सार्वनिक स्थलहरु अन्य स्थानहरुमा भिडभाड तथा भेला भएको देखिएमा तत्काल सम्बन्धित निकायमा खबर गरी कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्ने ।

सलामसिं तामाङ
अध्यक्ष
तेमाल गाउँपालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।