चुडामणि तिमल्सिना / ४ बैशाख २०७७
काभ्रे । काभ्रे जिल्ला बेथाञ्चोक गाउँपालिका वडा नं १ कलाङसिङकी ८४ वर्षीया सुकलक्षमी थिङ सरकारले दिने गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमको खुलेर प्रशंसा गर्छिन् । उनी भन्छिन्, जेष्ठ नागरिक सम्मान जस्तै हामी जस्ता बेसाहारा, अपहेलित बृद्धबृध्दाहरुले उपचार पनि पाए अझै केहि वर्ष संसार हेर्न पाउने थियो ।’
यो उमेरमा एक क्षण पनि हात खाली बस्न नसक्ने सुकलक्ष्मीको लागि आजभोलि भने आफ्नै आँगन परदेश भएको छ । ८ वर्षको उमेरमा सानु लामा थिङसँग विबाह भएकी सुकलक्षमी आजका दिनसम्म सुखको श्वास फेर्न नपाएको बताउछिन् ।
उमेरले आफुभन्दा ३ वर्ष जेठो सानुसँग मागी विबाह भएकी सुकलक्ष्मी बताउँछिन । ‘सानै उमेरमा विबाह भयो, केटाकेटी मान्छे के हो विबाह, के हो जीवन बुझेकै थिएनौं हामीले ।’ सुकलक्ष्मी भन्छिन् ।
सुकलक्ष्मी दम्पती । फोटोः चुडामणि तिमल्सिना
उनी सानै उमेरमा त विहे भयो त्यस पछि सानै उमेरमा उनी भिन्दा पनि बस्नुपर्‍यो । ‘यताउती गरियो, आजभोली गर्दागर्दै म पनि १२ वर्षमा टेकेछु, श्रीमान् पनि १५ मा लागे । तब घरबाट छुट्टिएर बस्नु पर्‍यो ।’ उनी संझिन्छिन्, ‘अनि आए हाम्रा दुखका दिन, निम्न वर्गीय परिवार, ज्याला मजदुरीको भरमा प्राण धान्नु पर्दा एकदमै सास्ती भोग्नु पर्‍यो । हाम्रो जस्तो कष्टकर जीवन कसैले भोग्नु नपरोस् ।’
उता उमेरले ८७ वर्षको उत्तरार्ध पार गर्न लागेका सुकलक्ष्मी थिङका श्रीमान सानु लामाको पनि जीवन भोगाईको अनुभव उस्तै छ, कुराकानीको क्रममा अतित सम्झदै सानुलामा भन्छन्, ‘मोटर गाडी हेर्न भक्तपुर पुग्नु पर्ने त्यो समय, कहिले असार लाग्ला र घुम बेच्न जानु भन्ने पिरलोले सताउने गरेको आजै जस्तो लाग्छ ।’ ‘ती दिन गए, यी दिन आए’ भने झैं अहिले गाउँमा गाडी आउला, बिजुली बल्ला भन्ने कल्पना समेत नगरेका थिङ दम्पती भन्छन्, ‘घरको आँगनबाट गाडी गुड्दा र बत्ती बल्दा सपना हो कि बिपना हो छुट्टाउन गाह्रो छ ।’
संसारले काँचुली फेरिसक्दा समेत आफ्नो जीवनले भने कोल्टे फेर्न नसकेकोमा दुःख व्यक्त गर्छन् ती दम्पती ।
थिङ दम्पती भन्छन्, ‘जेष्ठ नागरिक भत्ताको भरमा पालिनु परेको यो अवस्थामा हामी गर्व गरौं कि गुनासो ? गुनासो गरौं भने दिएको छ, पाएका छौं अनि खाएका पनि छौं, सामान्य रुपमा गाउँमा खान लाउन जेनतेन धानेकै छ ।’
उपचारको पर्खाइमा रहेकी सुकलक्ष्मी । फोटोः चुडामणि तिमल्सिना
बिगत १५ वर्ष यता देखि भने ८४ वर्षीया सुकलक्ष्मी थिङको कम्मरमा सानो मकैको गेडा जस्तो गिर्खा देखा परेको बताउने उनी, सुरुमा त खासै ठुलो जस्तो लागेन र वास्ता पनि गरिएन तर अहिले भने सो गिर्खा बढेर गाग्रीको साइजमा भएको छ । लुगा कपडा लगाउन समेत नमिल्ने भैइ सक्यो, उपचार गर्न जाउँ पैसा छैन ।
गहभरी आँसु पार्दै उनी भन्छिन्, ‘गाउँघर डुलेर छिमेकिहरुले दिएको सागपात, दहि दूध लिई घर आउने ८७ वर्षीय श्रीमन पनि अब हिड्न नसक्ने अबस्थामा पुगि सके भने म पनि घरमा भएको पकाएर दिन समेत नसक्ने भएपछि अब बाँच्नुको कुनै अर्थ छैन ।’ निक्कै भावुक हुँदै उनी सुनाउँछिन्, ‘बेला बैसमा त दुःख पाइयो, पाइयो अहिले ’घरले जा जा, वनले आ आ’ भन्ने बेलामा समेत शान्ति पाउन सकिन । के गर्नु आफ्नै जिन्दगी बोझ भएको छ ।’
बेलाबखत रेडियोको समाचारमा असहाय, बेसहाराहरुको उपचार भएको सुनेका थिङ दम्पती स्थानीय, प्रदेश अनि केन्द्रीय सरकार कसैले आफुहरुलाई नचिनेको बताउदै थिङ दम्पती भन्छन्, ‘खान लाउन त पाईयो सरकार अब हाम्रो उपचार कसले गर्छ ?’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।