नमोबुद्ध । काभ्रे जिल्लाको जिल्लाको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डे बजार हप्ताको दुईदिन मात्र खुल्ने भएको छ । बजारमा भिडभाड बढेपछि कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न भकुण्डे बजारका पसल आइतबार र बुधबार मात्र खोल्ने निर्णय भएको वडा नं ७ का वडा अध्यक्ष धर्म लामाले जानकारी दिए ।
विहिबार वडा अध्यक्ष लामाले भकुण्डे बजारका व्यवसायीहरुसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।
बैठकले आईबार र बुधबार बिहान ७ बजे देखि १० बजे सम्म ३ घण्टाका लागि बजार खोल्ने निर्णय भएको वडा अध्यक्ष लामाले तेमाल अनलाईलानलाई जानकारी दिए । ‘कोरोना भाईरस अर्थात कोभिड १९ बाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएको छ । यो कुरालाई मध्य नजर गर्दै आइतबार र बुधबार विहान ७ बजेदेखि १० बजेसम्म मात्र पसलहरु खोल्ने निर्णय भएको छ ।’ लामाले भने, ‘अब यहाँ पनि थप सतर्कता अपनाउदैसंक्रमण फैलन नदिनका लागि यस्तो निर्णय गरेका हौं । सर्वसहमतिमा नै यस्तो निर्णय भएको हो ।’
सरकारले जारी गरेको लकडाउनलाई बेवास्त गर्नेहरुको संख्या बढ्दै गएको वडा अध्यक्ष लामाले बताए । ‘लक डाउन राष्ट्रको लागि हो । आम जनताको लागि हो । तर अटेर गर्नेहरु धेरै निस्के ।’ लामाले भने, ‘लक डाउनको समयमा पनि बजारमा भिडभाड धेरै र बि.पि. राजमार्गमा पैदल यात्रीहरुको चाप बढीरहेको हुनाले संक्रमण संख्या शुन्य नभएसम्म बजार दुई दिन मात्रै खोलेर अन्य समयमा बन्द गर्ने निर्णय भएको छ ।’
निर्णयलाई पालना नगरेमा बैठकले जरिवाना समेत तोकेको छ । ‘बजार खोल्न तोकेको समय भन्दा अघि पछि बजार खोलेको पाईएमा जरिवाना समेत तोकिएको छ ।’ उनले भने, ‘यदि उल्लंघन गरेमा पहिलो चरणमा ५ हजार, दोश्रो चरणमा १० हजार र बारम्बार अटेर गरेमा कानुनी कारवाहि गरीने छ ।’
बजारमा रहेका मेडिकलहरुलाई भने यो नियम लागु नहुने लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















