एजेन्सी रोम
५ बैशाख ०७७
उपस्थित सबैको मुखमा मास्क तथा हातमा पन्जा छ । चिकित्सक तथा नर्सले पिपिआई लगाएका छन् । दुईवटा बेड अरूभन्दा अलिक नजिक छन् । दुवै बेडमा एक वृद्ध र वृद्धाको जोडी मुखमा मास्क र अक्सिजन लगाएर उपचार गरिरहेका छन् ।
केही क्षणपछि एउटा बेडका वृद्धले अर्को बेडकी वृद्धाको हात छुन पुग्छन् र दुवैजना प्रेम आदान–प्रदान गर्छन् । वरपर झुम्मिएका नर्स तथा चिकित्सकले ताली बजाएर बधाई तथा शुभकामना दिन्छन् । यो दृश्य पूर्वी इटालीको मार्ची क्षेत्रको फर्मो नगरपालिकाको मुर्री अस्पतालको आइसियूको वार्डको हो । वार्डमा ७१ वर्षीया वृद्धा सान्ड्रा र उनका ७३ वर्षीय पति गियानकार्लोले कोरोना उपचार गराइरहेका छन् । उपचारकै क्रममा उनीहरूको विवाहको ५० औँ वर्षगाँठ मनाएका हुन् ।
उपचारमा संलग्न चिकित्सक तथा नर्सले नै विवाह उत्सवको अवसर जुटाइदिएका थिए । सान्ड्रा र गियानकार्लोले अस्पतालको बेडमा भेन्टिलेटरमा मुख ढाकेको अवस्थामा एक–अर्काको हात समाएका थिए । सो जोडीले ५०औँ वर्षगाँठ मनाउने इच्छा व्यक्त गरेपछि उनीहरूको उपचारमा संलग्न नर्स रोबेर्टा फेरिटीले चिकित्सकलाई जानकारी गराएकी थिइन् । फेरिटीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सान्ड्रा र गियानकार्लोले एक अर्कालाई औधी माया गर्दा रहेछन् । उनीहरूले अस्पतालमा नै भए पनि विवाह उत्सव मनाउन चाहेका थिए ।’
करिब १० मिनेट पार्टी आयोजना गरिएको थियो । सो अवसरमा आइसियू वार्डका चिकित्सक, नर्स तथा कर्मचारी उपस्थित थिए । वृद्ध दम्पतीले बेडबाटै दुवैजनाको हातले प्रेमको प्रतीक बनाएका थिए । फेरिटीले अगाडि थपिन्, ‘सानो केकमा ५० वटा मैनबत्ती बाल्यौँ । त्यसपछि शुभकामना दियौं ।’ उनीहरूको बेड सँगसँगै थियो । उनीहरूले एक–अर्काका हात समातेका थिए । कोरोनाले ग्रस्त भए पनि उनीहरूमा ऊर्जा देखिन्थ्यो ।
फेरिटीका अनुसार उनीहरूले वार्षिकी मनाएको क्षण निकै भावुक थियो । वृद्धले पत्नीलाई बारम्बार आफूले धेरै माया गर्ने गरेको दोहो(याएका थिए । उनका शब्द सुन्दा उपस्थित चिकित्सक र नर्सका समेत आँखा रसाएका थिए । उनीहरूले आइसियूमा दर्शाएको प्रेममय वातावरण ऐतिहासिक थियो । आइसियूका प्रमुख लुसिआनले भने, ‘हाम्रो अस्पतालमा वास्तवमै अनौठो र दुर्लभ घटना देखिएको छ । वृद्ध दम्पतीको एक–अर्काप्रतिको समर्पणले हामीलाई पनि मायाको पाठ सिकाएको छ ।’
अस्पतालले आफ्ना मातापितालाई अस्पतालमा नै विवाह वर्षगाँठको कार्यक्रम गरिदिएकामा वृद्धवृद्धाका छोराछोरी पनि दंग छन् । ‘हामीले अनौठौ उपहार पायौँ ।’ उनीहरूले भने, ‘हाम्रा बुबाआमा निकै मिलनसार हुनुहुन्छ र पुरानो संस्कारमा विश्वास गर्नुहुन्छ । उहाँहरूको मायाप्रेम संसारकै लागि उदाहरणीय छ ।’ दुईसाताअघि अस्पताल भर्ना भएका उनीहरूको अवस्थामा क्रमिक सुधार आएको छ, र केही दिनपछि डिस्चार्ज हुँदै छन् । इटालीमा बुधबारसम्म कोरोनाबाट २० हजार ४६५ को मृत्यु भएको छ भने १ लाख ६० हजार संक्रमित भएका छन् । -नयाँपत्रिकाबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















