५ बैशाख २०७७
काठमाडौं । पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले कष्टपूर्ण र हृदयविदारक पैदलयात्रीहरुलाई देखेपछि सरकारलाई सुझाव दिएका छन् । सत्तारुढ दल नेकपाका वागमती प्रदेश सह–इन्चार्ज तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई सुझाव दिएका हुन् ।
‘हिजोआज केही दिन यता सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुमा लामो बन्दाबन्दी (लकडाउन) को कारण बेखर्ची भएका मजदुर र अन्य सर्वसाधारण नागरिकहरुको सडकहरुमा हृदयस्पर्शी किसिमका दृश्यहरु देख्नमा आइरहेका छन् ।’ तामाङले सुझाव दिंदै लेखेका छन्, ‘अझ सडकमै आउन नसक्ने बृद्ध बृद्धा, बालबालिका, अपांग, सुत्केरी र बिमारीहरु पनि ठुलै संख्यामा हुन सक्छन् ।’
सांसद तामाङले वास्तविक स्थिति बुझेर समस्या समाधान गर्न सरकारलाई सुझाव दिंदै तामाङले यो समस्या समाधान गर्नु पनि कोरोना भाइरस विरुद्धको एक महत्वपूर्ण हिस्सा रहेको स्पष्ट पारेका छन् ।
यस्तो छ सांसद तामाङको सुझावः

सरकार एवम् सम्बन्धित निकायहरुलाई सुझाव
हिजोआज केही दिन यता सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुमा लामो बन्दाबन्दी (लकडाउन) को कारण बेखर्ची भएका मजदुर र अन्य सर्वसाधारण नागरिकहरुको सडकहरुमा हृदयस्पर्शी किसिमका दृश्यहरु देख्नमा आइरहेका छन् । अझ सडकमै आउन नसक्ने बृद्ध बृद्धा, बालबालिका, अपांग, सुत्केरी र बिमारीहरु पनि ठुलै संख्यामा हुन सक्छन् ।
अहिलेको विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र पहिचानको एकमात्र भरपर्दो तरिका भनेको बन्दाबन्दी नै हो भन्ने कुरा पनि निर्विवाद रुपले पुष्टि भइनै रहेको छ । त्यसो भन्दैमा कोरोनाबाट मात्रै मान्छे नमरुन् भोकमरी र अन्य रोगबाट चाहिं जतिसुकै जो पनि मरुन् भन्ने त हाम्रो सरकारको नीति होइन ।
जसकोबारेमा यस्तो भोकमरीको समस्या नआउन् भनेर नेपाल सरकारले मापदण्ड समेत निर्धारण गरिसकेको छ र सम्बन्धित निकायहरुलाई निर्देशन पनि जारी गरिसकेको छ । तर पनि आज त्यस किसिमको समस्याहरु किन देखा परिरहेका छन् ? त्यसको एक मात्र कारण भनेको कार्यन्वयन गर्नेहरुले जवाफदेही ढंगले जिम्मेवारी निभाउन सकेनन् भन्ने नै हो ।
मान्छे जहाँको जोसुकै होउन् यदि बेखर्ची भएकै हो र समस्यामा परेकै हो भने त्यसको समाधान राज्यले गर्नै पर्छ । पेटभरि खाने व्यवस्था र औषधी गर्न पाउने व्यवस्था राज्यले गर्नै पर्छ । प्रत्येक नागरिकलाई खाद्य सम्बन्धि हक संबैधानिक रुपले नै सुनिश्चित गरेको छ ।
बरु म गृह मन्त्रालय एवम् सुरक्षाकर्मीहरुलाई पनि यो भन्न चाहन्छु कि कोही मजदुर वा सर्वसाधारण ब्यक्ति घरमा जान्छु भनी सडकमा हिडिरहेका छन् भने तिनलाई विनम्रता पूर्वक नियन्त्रणमा लिनुहोस् र शिस्टतापूर्वक सोध्नुहोस् । के कारणले हिडिरहेका छन् सोध्नुहोस् । घरमा कसैको मृत्यु भएकोले जान खोजेका रहेछन् भने मृत्यु संस्कारमा जानेलाई पासको व्यवस्था मिलाउने कुरा गृहमन्त्रालयले भनेकैछ । उसले जानकारी र पहुँचको अभावले पास लिन नसकेको रहेछ भने तपाईहरुले पास दिलाई दिने काममा सहयोग गरिदिनुहोस् र अन्य कुनै उपाय अपनाएर सुरक्षित तवरले पठाउन सकिन्छ । त्यता तर्फ सहयोग गरिदिनुहोस् ।
रासन सकेर बिखर्ची भएकोले हिडेका भन्छन् र त्यो पुष्टि हुन्छ भने जसलाई जहाँ भेटिन्छ त्यहाँ पनि वडा कार्यालय छ त्यहीँको स्थानीय वडा कार्यालयमा लगिदिनुहोस् र खाना बस्ने व्यवस्था मिलाउने जिम्मा तपाईंको वडाको हो भनी वडाका जनप्रतिनिधि वा अधिकारीलाई जिम्मा दिईदिनुहोस् ।
त्यसरी आएका नागरिकहरुलाई सम्बन्धित वडा कार्यालयले पनि जो जहाँको भए पनि यो हाम्रो दायित्व र जिम्मेवारी हो, राज्यको दायित्व हो भनी बुझ्नुहोस् र राम्रो खान बस्नको व्यवस्थापन गरिदिनुहोस् । कोरोना भाइरससँग लड्ने समग्र लडाइँ भित्रको महत्वपूर्ण हिस्सा हो यो पनि ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















