७ बैशाख २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको प्रकोपका बेला भ्रष्टाचारको कल्पना पनि गर्न नसकिने बताएका छन्। शनिबार साँझ सरकारी सञ्चारमाध्यमहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘कोरोनाको प्रकोपमा भ्रष्टाचार र अनियमिताको म कल्पना पनि गर्न सक्दिनँ’, उनले भने, ‘तर केही मासिसले एकोहोरो धुन बजाए, त्यसलाई कर्कश धुन भनिन्छ।’
उनले कोरोनाविरुद्धको औषधिसहितका स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागले खरिदको निर्णय गरेको बताउँदै त्यसमा आफूलाई पनि जोडेर बदनाम गर्न खोजिएको बताए।
‘औषधिसहितका स्वास्थ्य सामग्री मन्त्रालयको एउटा विभागले खरिदको निर्णय गर्छ। त्यो प्रक्रिया मन्त्रिपरिषद्मा आउनै पर्दैन’, उनले भने, ‘आफ्नै मन्त्रीलाई जानकारी दिएर खरिदको निर्णय भएको हो। यदि भ्रष्टाचार र अनियमितता भएको भए कारवाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन।’
प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार हुँदा हुँदै उच्चस्तरीय संयन्त्रको कुनै आवश्यकता नरहेको टिप्पणी गरे। ‘सरकारमाथि उच्चस्तरीय राजनीतिक संयन्त्र कुन देशमा छरु भारत, अमेरिका, जापान मलाई कसैले देखाइदिनु’, उनले भने, ‘मैले त गुगल सर्च गर्दा पनि भेट्दिन। जंगलको किनारमा बसेकाले पनि यो कुरा गरेको सुन्छु। यस्तो नहुने कुरा कसैले नगर्नु ।’
ओलीले आफ्नो नाममा भएको घरसहितको सम्पत्ति दान गरिसकेको बताएका छन्। उनले आफ्नो सम्पत्तिमाथि प्रश्न उठाउनेले हेक्का गरेर बोल्नुपर्ने बताए।
‘मैले जोडेको घर पनि दान गरिसकेको छु। मसँग केही पनि सम्पत्ति छैन। मेरी श्रीमतीले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर, ऋणपान गरेर जोडेको हो घर’, उनले भने, ‘अनि मैले के का लागि कसका लागि अनियमितता र भ्रष्टाचार गर्नू।’
उनले सरकारको निर्देशन मान्दिनँ भन्नेहरुलाई अराजकको संज्ञा दिए । ‘सरकारको आदेश मान्दिनँ भन्ने दम्भपूर्ण र अराजकपूर्ण अभिव्यक्ति दिनु ठीक होइन’, उनले भने, ‘सरकारी पदमा बसेपछि सरकारको आदेश नमान्ने अराजकपूर्ण गतिविधि हुनु हुँदैन।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।