चौंरीदेउराली । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न अभाव भइरहेको छ । विशेष गरि दैनिक ज्यालादारी मजदुरहरुलाई दैनिकी चलाउन मुस्किल भइरहेको छ ।
विभिन्न स्थानीय तहहरुमा राहत वितरण भइरहेको पनि छ । सरकारको तर्फबाट विभिन्न संघसंस्था वा व्यक्तिबाट राहत वितरण भइरहेको छ । जसले गर्दा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकिएको सामाजिक दुरी कायम नभई कोरोना संक्रमणको जोखिममा परिरहेका छन् ।
यसलाई मध्य नजर गर्दै काभ्रेको चौंरीदेउराली गाउँपालिकाले राहत वितरणलाई सहज र भिडभाड नहुने योजना बनाएको छ । गाउँपालिकाले कुपनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । ‘नेपाल सरकारले राहतको मापदण्ड बनाएको छ । त्यहीं मापदण्ड अनुसारको कुपन तयार गरेका छौं ।’ अध्यक्ष गौतमले भने, ‘गाउँपालिकाले तोकिएको खाद्यान्न पसलमा गएर सामान ल्याउने व्यवस्था गरेका छौं ।’
उनले भिडभाड नहुने उपाय अप्नाएको बताउँदै आवश्यकता भएको बेला सामान लिन जान अनुरोध गरे । ‘कुपन लिनुहोस्, राहत ल्याउनुहोस् ।’ उनले भने ।
स्थानीयलाई भने अहिले नै राहतको आवश्यकता नदेखिएकोले पालिका बाहिरबाट काम गर्ने सिलसिलामा आएकाहरुलाई मात्र राहत दिएको अध्यक्ष गौतमले जानकारी दिए । ‘यो गाउँपालिका भित्र विभन्न जिल्ला र पालिकाबाट काम गर्न आएका मजदुरहरु छन् । स्थानीय जनताको भन्दा पनि उहाँहरुको समस्या अलि जटिल छ ।’ गौतमले भने, ‘त्यसैले स्थानीयलाई हामीले राहत बाँडेनौं ।’
एसईईका लागि दुई वटा परिक्षा केन्द्र थप्ने निर्णय
चौंरीदेउराली गाउँपालिकामा एसईंईको दुई वटा परिक्षा केन्द्र थप्न सिफारिस गरिएको छ । गाउँपालिकाको आव्हानमा आज बसेको शिक्षक महासंघ, विभिन्न संगठनहरु र प्रधानाध्यापकहरुको बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण नेपालमा पनि हुन थालेपछि एसईई परिक्षा स्थगित भएको थियो । लकडाउन खुल्ने निश्चिन नभएपछि परिक्षा बोर्डले सुरक्षालाई ध्यानमा राखेर परिक्षा केन्द्र थपघटको अवस्था के कस्तो छ सबै स्थानीय तहमा पत्र पठाएको थियो । सोही अनुसार दुुईटा परिक्षा केन्द्र थप्न सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
सोही अनुसार वडा नंं ३, काफ्लेमा रहेको किरनोदय आधारभूत विद्यालय र वडा नं. ९, गोठपानीमा रहेको सूर्योदय प्राविलाई सिफारिस गरेको गौतमले बताए । ‘विशेष गरि सुगमतालाई ध्यानमा राखेर केन्द्र तोक्न सिफारिस गरेका हौं ।’ उनले भने, वडा नं. ३ मा रहेको किरनोदय आधारभूत विद्यालयमा बुद्ध हिमालय मावि र खाँडादेवी माविलाई सजिलो हुन्छ र सूर्योलय प्राविमा परिक्षा केन्द्र हुँदा भुमेस्थान मावि र देउराली माविलाई सजिलो पर्छ ।’
स्वास्थ्यकर्मीको सुरक्षामा जोड
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण अभियानमा सबैभन्दा पहिलो सुरक्षाको प्राथमिकता स्वास्थ्यकर्मीहरुलाई दिएको अध्यक्ष गौतमले बताए । ‘स्वास्थ्यकर्मीहरु यो अभियानमा सबैभन्दा अगाडि हुनेभएकोले हामीले पनि उहाँहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ उनले भने, ‘स्वास्थ्य सामाग्रीहरुको लागि हामीले पहल गरिरहेका छौं ।’
गौतमका अनुसार यस गाउँपालिकामा चैत्र महिना यता विदेशबाट आएका ७ जनाको र्यापिड टेष्ट गरेको र सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
१५।१५ बेडको क्वारेन्टाइन र आइसोलेसन निर्माण
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि चौंरीदेउराली गाउँपालिकाले १५ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गौतमका अनुसार धुसेनी शिवालय प्राथमिक अस्पतालमा उक्त कक्ष निर्माण गरिएको हो ।
त्यसैगरि सुविधा सम्पन्न क्वारेन्टाइन १५ बेडको तयार पारेको गौतमले जानकारी दिए । ‘वडा नं. ४ गुपटीमा रहेको लक्ष्मी प्रतिष्ठानको होस्टेलमा निर्माण १५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेका छौं ।’ उनले भने, धुसेनी शिवालय प्राथमिक अस्पतालमा १५ बेडको आइसोलेसन कक्ष निर्माण गरेका छौं ।’
आवश्यकता पर्दा ती कक्षहरु बढाउन सक्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















