९ बैशाख २०७७
बनेपा । नेकपाका वागमती प्रदेश कमिटि सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ र सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहराको पहलमा सिन्धुलीका करिब ७ सय पैदलयात्रीहरुलाई उद्धार गरेका छन् ।

लकडाउनका कारण काठमाडौंमा रोकिएका मजदुरहरु मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरूलाई गाडी चढाइ गन्तव्य स्थानसम्म दोङ र बोहराले पुर्‍याएको हो ।

पूर्व राज्यमन्त्री दोङको पहलमा बनेपामा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । गाडीको व्यवस्था गरेपछि एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीमा चढाइएको थियो ।काठमाडौंदेखि पैदलयात्रा गरेर थकित भएका मानिसहरु स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरू खुसी भएका थिए ।
सुनकोशी गापा अध्यक्ष बोहराले खाजा ख्वाइन्
भक्तपुरको जगातीबाट बिहान साढे ९ बजे छुटेका कतिपय गाडीलाई बनेपामा स्थानीय प्रशासनले रोकेको थियो । दिउँसोको समयमा गाडी लैजान नपाइने भन्दै स्थानीय प्रशासनले रोकेपछि बनेपाका सडक र बसपार्क क्षेत्रमा भिड नै लाग्यो ।
गाडी रोकिएको समय पारेर सबैलाई गाउँपालिकाक अध्यक्ष बोहराले खाजा र खाना खुवाइएकी थिइन् । ‘सबैलाई खाना खुवाउने भनेका थियौँ तर पुगेन, धेरै जनाले चाउचाउ र चिउरा खानुभयो’ अध्यक्ष बोहराले भनिन् ।

आधा घण्टाको फरकमा गाडी पठाइयो
बनेपामा गाडी रोकेपछि अध्यक्ष बोहरा, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच छलफल भएको थियो । स्थानीय प्रशासनले रातिको समयमा पठाउने भने पनि आफूहरूले सडक अप्ठ्यारो भएकाले दिउँसो नै पठाउन जोड गरेको अध्यक्ष बोहराले बताइन् । ‘उहाँहरूले बेलुका लैजान ठिक हुन्छ भन्नुभएको थियो। तर, सिन्धुली जाने सडक अप्ठ्यारो भएकाले हामीले दिउँसो नै लैजाने जोड र्गयौँ’ उनले भनिन्, ‘त्यसपछि आधा घण्टाको फरकमा गाडी छुटाउने गरी सहमति गरेको अध्यक्ष बोहराले जानकारी दिइन् ।’

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि दिउँसोभन्दा रातिको समयमा सहज हुन्छ भनेर रोकेको तर धेरै मानिस व्यवस्थापन गर्न कठिन हुने भएपछि सिन्धुलीतर्फ जानेहरूलाई पठाएको बताए ।
आज मात्र काभ्रेबाट सिन्धुली तर्फ १४ वटा गाडीमा पैदलयात्रीहरुको उद्धार गरेको पूर्व उर्जा राज्यमन्त्री दोङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।