१० बैशाख २०७७
धुलिखेल । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले काठमाडौंमा अलपत्र परेका आफ्ना जनतालाई उद्धार गरेका छन् । काठमाडौंमा अलपत्रमा परेका ४ सय जनालाई अध्यक्ष जिम्बाले आज (बुधबार) बिहान २ बजे उद्धार गरेका हुन् ।

उद्धारका लागि गाउँपालिका अध्यक्ष जिम्बा, नेकपाका नेताहरु सुजन लामा र रुप योञ्जन लगायतका राती २ बजे जडीबुडी पुगेका थिए । उद्धारका लागि काभ्रे वस व्यवसायी संघले ४ वटा गाडीको व्यवस्था गरेको थियो ।
कोभिड–१९ को विश्वव्यापी महामारीको कारण लकडाउन भएपछि कामको सिलसिलामा काठमाडौं पुगेका मजदुरहरु गाउँ जान पाएका थिएनन् । जिम्बा स्वयंमले उपत्यका र बनेपामा फसिरहेको बालबािलका सहित करिव ४ सय जना नागरीकहरुको ज्वरो चेकजाँच गरि गाडीमा चढाएका थिए । ‘तपाईंहरु सबै १४ दिनसम्म बाहिर ननिस्किनु, घरको परिवारसँग पनि हेलमेल नगर्नु । घरमै क्वारेन्टाइनमा बस्नु होला ।’ गाडी चढाउँदै जिम्बाले स्थानीयलाई भने, ‘मान्नु भएन भने सबैको जिम्मेवार तपाईं हुनेछ ।’

यस्तो महामारीको बेलामा जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष जिम्बाले गाउँमा पुगेपछि कोरोना विरुद्ध लड्नुपरेपनि भोकमरीको विरुद्धमा लड्नुनपर्ने तर्क गरे ।
‘दैनिक ज्यालादारी मजदुरहरु हाम्रो गाउँपालिकाबाट काठमाडौं उपत्यका र बनेपामा धेरै छन् । एक्कासी भएको लकडाउनका कारण उनीहरु कोरोना भाइरस संक्रमणको त्रासमा त छँदै थियो, भोकभोकै मर्ने भयो भन्ने त्रास पनि थियो ।’ भावुक हुँदै जिम्बाले भने, ‘जनताको पिडा टुलुटुलु हेरिबस्न सकिन, त्यसैले उद्धार गरेको हुँ । अब जनताले कोरोना र भोकमरी दुवैको विरुद्धमा लडुनुपरेन । अब कोरोनाको विरुद्धमा मात्र लडे पनि हुन्छ ।’
स्थानीयलाई निःशुल्क रुपमा गन्तव्यसम्म पठाईएको उनले जानकारी दिए ।  महाभारतका अलपत्र परेर बसेकाहरु घरसम्म सहजढंगले पुग्न पाउँदा खुशी भएका थिए ।
भिडियो हेर्नुहोस्ः

Comments

comments