१० बैशाख २०७७, धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), तेमाल गाउँ कमिटिले काठमाडौंबाट १ सय जना बढी तेमालबासीको उद्धार गरेको छ । कामको सिलसिलामा तेमालबाट काठमाडौं आई बसेका तेमालवासीलाई नेकपाका नेताहरुको पहलमा उद्धार कार्य शुरु भएको हो ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै गरेको लकडाउनका कारण घर जान नसकेपछि नेकपाका नेताहरुले घरसम्म पुर्याउने व्यवस्था गरेको नेकपाका जिल्ला सदस्य तथा अनेरास्ववियूका केन्द्रिय सदस्य जेनिश लामाले जानकारी दिए ।
तेमाल गाउँ सरकारले उद्धार कार्यमा तदारुकता नदेखाएपछि आफूहरुले उपलब्ध भएसम्मको गाडी व्यवस्थापन गरि तेमालबासीलाई उद्धार गर्न आजबाट शुरु गरेको नेता लामाले बताए । ‘हामीले तेमाल सरकारलाई बारम्बार कुरा राखेका थियौं । तर निर्णय गर्न ढिलाई गरेपछि हामी आफै उद्धारमा लागेका हौं ।’ उनले भने, ‘अब पनि तेमाल सरकारले ढिलाई गरे हामीले पहलकदमी लिएर अघि बढ्ने छौं ।’
आज २ वटा गाडी मात्र व्यवस्था गर्न सकेको नेता लामाले जानकारी दिए । काठमाडौंको जडीबुटीबाट गाडी हिंडिसकेको उनले जानकारी दिए । गाडीमा करिब १ सय जना रहेका छन् । यो गाडी तेमाल गाउँपालिका वडा नं. ९ सम्म जाने उनले बताए ।
अहिले तेमाल तर्फ दुई वटा वस हिंडिसकेको बताइएको छ । तेमाल सरकारले अझ पनि केही व्यवस्था नगरे आफूहरु जनताको सुरक्षा र उद्धारको लागि कुनै कसर बाँकी नराख्ने नेता लामाले बताए ।
उद्धारको पहल अगाडि बढाउन नेकपाका नेताहरु पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, सांसद गंगाबहादुर तामाङ, इन्द्र तामाङ, जेनिस लामा, इन्द्रमान तामाङ, डिएम लामा, घनश्याम घिसिङ लगायतका लागेका छन् ।
नेता जेनिश लामाका अनुसार कुनै पनि ठाउँमा रहेका तेमालवासीले कुनै पनि खालको समस्या परे आफूलाई वा नेकपा तेमाल गाउँकमिटिमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।
यता तेमाल गाउँपालिकाको आकस्मिक बैठक बसेको थाहा भएको छ । बैठकमा आफ्नो गाउँपालिका भित्रको नगारिकलाई उद्धार गर्ने निर्णय हुने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















