११ बैशाख २०७७
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमित पत्र निर्वाचन आयोगमा दर्ता गरिएको छ । दर्ता न।१३८८र०७७(०१(११ मा उक्त सहमति पत्र दर्ता गरिएको आयोगले जनाएको छ ।
मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।
नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।
बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
एकीकृत पार्टीको झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















