१२ बैशाख २०७७
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण र रोकथामको लागि स्थानीय तहमा समूह खटाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सबै स्थानीय निकायमा जनस्वास्थ्य अधिकारी, ल्याब टेक्निसियन, र नर्स गरी तीन जनाको समूह बनाएर कोभिड(१९ को नियन्त्रण र रोकथामको लागि समूह खटाइने जानकारी दिएका हुन्। उनले भने, ‘यो समूहले कोरोना संक्रमणलाई नियन्त्रण, रोकथामसँगै ट्रेसिङ गर्ने काम गर्नेछ।’
गठन गरिएको समूहमा स्थानीय तहमा रहेका कर्मचारीहरुलाई प्राथमिकता दिइएको देवकोटाले बताए। गाउँपालिकामा एउटा, नगरपालिकामा दुईवटा, उपमहानगरपालिकामा तीन, र महानगरपालिकामा पाँच वटा समूह खटाइने बताएको छ। प्रवक्ता देवकोटाले भने, ‘स्थानीय तहमा उपलब्ध स्वास्थ्य कर्मचारीलाई प्राथमिकतामा राखेर परिचालन गर्ने निर्णय भएको छ। जनशक्ति अभाव भएमा प्रादेशिक जिल्ला स्वास्थ्य कार्यलय, प्रादेशिक कार्यलय, सामजिक विकास मन्त्रालयलगायतमा माग गर्न अनुरोध गरिएको छ।’
हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितको संख्या ४८ रहेको छ, जसमा १० जना निको भएर घर फर्किएका छन्। बाँकी ३८ जनाको देशका विभिन्न स्थानमा परीक्षण भइरहेको छ। देशैभरका विभिन्न स्थानमा उपचाररत रहेका मध्ये सबैभन्दा धेरै २९ जना विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेका छन्।
पिसिआर र आरडिटीमार्फत भइरहेको परीक्षणमा हालसम्म ४७ हजार ४ सय ९३ जनाको परीक्षण भएको छ। जसमा पिसिआर विधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ भने आरडिटी विधिबाट कूल ३८ हजार ९९ जनाको परीक्षण भएको छ। आरडिटीबाट भएको परिक्षणमा विभिन्न प्रदेशमा गरी क्रमशः प्रदेश १ मा ३ हजार ९ सय २९ जना, प्रदेश २ मा ४ हजार ९ सय ७७ जना, बागमती प्रदेशमा ७ हजार १ सय ४३ जना, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ जना, प्रदेश ५ मा २ हजार ८ सय ७४ जना, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० जना र सुदूरपश्चिम प्रदेशमा ९हजार ५ सय १३ जनाको परीक्षण भएको छ।
देशभरका विभिन्न क्वारेन्टाइनमा हाल १२ हजार ९ सय ८५ जना रहेका छन्। प्रवक्ता देवकोटाले दैनिक क्वारेटाइनमा बस्नेको संख्या बढ्नुमा उपत्यकाबाट बाहिरिएर जाने मान्छेलाई क्वारेन्टाइनमा राखिएकाले बताए। उनले भने, ‘काठमाडौंलगायतका क्षेत्रबाट विभिन्न जिल्लामा जानेलाई क्वारेन्टाइनमा राखेकाले यो संख्यामा वृद्धि भएको छ।’
हाल आइसोलेसनमा ८९ जना रहेका छन् जसमा काठमाडौं उपत्यकामा ३ र बाहिर ८६ जना छन्। त्यस्तै स्वास्थ्य मन्त्रालयको कोभिड(१९ विषेश वेबसाइट र एपमा हालसम्म स्वमूल्याकंनको निम्ति विवरण भर्नेको संख्यामा कूल २४ हजार ९ सय २३ रहेको छ, जसमा १ हजार ३ सय २४ जनाले पछिल्लो २४ घण्टामा विवरण भरेका छन्। गत २४ घण्टामा रेड जोनमा पर्नेको संख्या ९ पुगेसँगै कुल २८७ जना रेड जोनमा परेका छन्। प्रवक्ता देवकोटाले भने, ‘रेड जोनमा पर्नेलाई सम्बन्धित निकायबाट ट्रेसिङ र परीक्षण गर्ने काम भईरहेको छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।