१३ बैशाख २०७७
काभ्रे । विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरसको कारण देशमा पनि लकडाउन भइ गाउँ फर्किन नपाई कष्टकर जीवन विताइरहेका उपत्यकाका नागरिकहरूलाई खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलाल आफै फिल्डमा खटिएर उद्धार गरेका छन् ।
लकडाउनका कारण उपत्यकामा कष्टकर जीवन बिताउन बाध्य गाउँपालिकाका नागरिकको शनिबार अध्यक्ष खुलाल आफै फिल्डमा खटिएर सार्वजनिक बसमार्फत उद्धार गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल आफ्नै सक्रितामा उपत्यकाका एकसयभन्दा बढी नागरिकको शनिबार उद्धार भएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका नागरिकलाई कोटेश्वर र सातदोबाटोबाट उद्धार गरिएको हो । विभिन्न ठाउँबाट हिडेर बस भएको ठाउँमा आएका नागरिकलाई समेत गाउँपालिकाका अध्यक्ष खुलाल आफैले आफ्नो गाडीमार्फत उद्धार गरी बससम्म ल्याएका थिए ।
गाउँपालिकाले सबैको स्वास्थ्य परिक्षण गरी नागरिकको उद्धार गरेको हो । ‘सबैको स्वास्थ्य परिक्षण गरेका छौँ, उपत्यकामा रहेका घर जान इच्छुक नागरिकको हामीले उद्धार गरेका छौँ ।’ गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालले भने, ‘अब हामी पनौती र बनेपाका नागरिकलाई पनि भोलि उद्धार गर्छौ ।’
गाउँपालिकाले व्यवस्था गरेको बसमार्फत घर जान पाएपछि नागरिकहरु पनि खुसी भएका छन् । खानीखोला ७ का मान बहादुर मोक्तान भन्छन्, ‘सहरमा कष्टकर जीवन बिताउन बाध्य थियौँ, गाउँपालिकाले बसको व्यवस्था गरेर लैजाने काम गर्यो, अध्यक्षज्यु धन्यवादको पात्र हुनुहुन्छ, हामी खुसी छौँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।