१४ बैशाख २०७७
काठमाडौं । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई शनिबार बालुवाटार बोलाएका थिए ।
मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको सचिवालय बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन् । तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले शनिबार भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुवै पदबाट राजीनामा पनि मागे ।
‘मलाई हटाएर कसलाई ल्याउनुहुन्छ ?’ –ओली
आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए । गौतमको जवाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन ।’
गौतमको भनाइमा जवाफ दिँदै ओलीले भनेका थिए, ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु ।’
पार्टी अध्यक्ष प्रचण्डले छलफल र निर्णय गर्न स्थायी समिति बैठक बोलाउनुपर्ने भनाइ राखेका थिए । ‘आवश्यक निर्णय पार्टीले गर्छ, छलफल गर्न पार्टी स्थायी समितिको बैठक बोलाऔँ । २० जना सदस्यले लिखित माग पनि गर्नुभएको छ,’ प्रचण्डको भनाइ थियो ।
प्रचण्डको प्रस्तावलाई वरिष्ठ नेता नेपालले पनि समर्थन गरेका थिए । तर, अध्यक्ष ओलीको जवाफ थियो, ‘तपाईंहरूको मागअनुसार अध्यादेश फिर्ता भइसकेको छ, अब अहिले नै स्थायी समितिको बैठक बोलाउने स्थिति छैन, आवश्यक परे खुला छलफल गर्न म तयार छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















