पनौतीबाट ३ सय जना खानीखोलाबासीको उद्धार

१४ बैशाख २०७७
पनौती । काभ्रेको खानीखोला गाउँपालकाबाट विभिन्न कामको सिलसिलामा पनौती आएर बसेका खानीखोलाबासीलाई आज घरसम्म पुग्ने व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण खुलाल, प्रवक्ता मानबहादुर गोले र नेकपाका जिल्ला सदस्य दैवलाल घिसिङ पनौती आएर उनीहरुको उद्धार गरेका हुन् ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको घोषणा गरेपछि पनौती बजारमा आई बसेका खानीखोलाबासी घर जान सकेका थिएनन् ।
दैनिक जीवन गुजारा चलाउन गाह्रो भएको गुनासो आएपछि उद्धार गरेको गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले जानकारी दिए । ‘लकडाउनका कारण कष्टपूर्ण जीवन जिउन बाध्य भएका र घरसम्म जान चाहनेहरुलाई हामीले उद्धार गरेका हौं । काठमाडौंबाट प्राय सबैको उद्धार गरेपछि अब पनौनी, बनेपामा आएर बसेकाहरुको उद्धार आज गर्न लागेका हौं ।’ प्रवक्ता गोलेले भने, ‘समस्या भएको गुनासो आएपछि गाउँपालिकाको पहलमा उद्धार गर्न लागेका हौं ।’

पनौतीबाट करिब ३ सयको उद्धार गरिएको गोलेले बताए । ‘हिजो र आज गरेर हामीले ३ सय जनाको उद्धार गरेका छौं ।’ उनले भने, ‘हिजो २ बस र आज २ बस र एउटा मिनिट्र गरि ५ सवारी साधानको व्यवस्था गरेका छौं ।’
उद्धार गरिएकाहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गरीएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य परिक्षणको लागि गाउँपालिकाबाटै एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरेको थियो ।
महामारीको बेला धेरै दिन परिवारसँग भेट्न नपाएर अक्रान्त बनेका खानीखोलाबासी घर जाना पाउँदा खुशी देखिन्थे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।