१४ बैशाख २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले प्रत्येक घर–घरमा पुगी स्थानीय जनताको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको आज (आइतबार) बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् ।
वडा नं. ६ मा आजैबाट उक्त कार्य शुरु भएता पनि सोमबारदेखि भने एकै साथ सबै वडाहरुमा सञ्चालन हुने प्रबक्ता तामाङले तेमाल अनलाईनलाई बताए । ‘जनताको स्वास्थ्य अवस्था के कस्तो छ भनेर बुझ्न र कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउन यो अभियान सञ्चालन गर्न लागेका हौं ।’ उनले भने, ‘वडा नं. ६ मा आजैबाट शुरु भएता पनि भोलिदेखि एकैसाथ सबै वडाहरुमा स्वास्थ्य परिक्षणका काम शुरु हुने छ ।’ स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
पूर्वाधार विकासका काम सूचारु गर्ने
यसैबीच बैठकले लकडाउनका कारण बन्द रहेको विभिन्न योजनाहरु रोकिएकोमा सूचारु गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए । ‘अब भौतिक पूर्वाधारका योजनाहरु लकडाउनका कारण रोकिएको थियो । अब यसलाई सूचारु गर्ने निर्णय गरेका छौं ।’ उनले भने, ‘अब भोलिदेखि नै लकडाउनको अनुशासनलाई कायम गर्दै योजना कार्यन्वयन सूचारु हुने छ ।’
कृषि सामाग्री वितरण गरिने
त्यसैगरि बैठकले लकडाउनका कारण विउविजनको समस्यामा परेका किसानहरुलाई बीउविजन वितरण गर्ने निर्णय गरेको तामाङले बताए । ‘लकडाउनका कारण किसानलाई कृषि सामाग्रीहरु अभाव रहेको देखिएको छ ।’ उनले भने, ‘किसानलाई चाहिने कृषि सामाग्री तथा विउविजन पनि चाँडैनै वितरण गर्ने निर्णय गरेका छौं ।’
उपत्यकामा रहेका बाँकीलाई पनि उद्धार गरिने
बैठकले विभिन्न कामको सिलसिलामा उपत्यकामा आइबसेका बाँकी तेमालबासीलाई उद्धार गर्ने निर्णय गरेको छ । ‘हामीले यस अघि १७ वटा गाडीको व्यवस्था गरेर तेमालबासीलाई काठमाडौं लगायतका शहरहरुबाट उद्धार गरेका थियौं ।’ प्रवक्ता तामाङले भने, ‘बाँकी रहेकाहरुलाई पनि चाँडै नै उद्धार गरिने छ । प्रत्येक वडामा कम्तीमा १ वटा बसको व्यवस्था गरेर गाउँसम्म ल्याउने प्रबन्ध मिलाउने छौं ।’
घर आउन चाहनेहरुले सम्बन्धित वडाका वडा अध्यक्षलाई सम्पर्क गरि आफ्नो नाम टिपाउन पनि तामाङले तेमालबासीलाई अनुरोध गरेका छन् । कहिले र कसरी उद्धार गरिने हो यसको लागि गाउँपालिकाले सूचना जारी गर्ने पनि उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।