स्टालिनपन्थीहरुले ट्रट्स्कीको बिरुद्ध विष वमन गर्ने क्रममा ट्रट्स्कीलाई “लेनिनवादका प्रमुख शत्रु” भनेर भन्ने गर्छन। साथै, अक्टोबर क्रान्तिभन्दा पहिले यी दुवै क्रान्तिकारीहरुका बीच रहेका केहि भिन्न मतहरुलाई बढाई-चढाई, अप्रासंगिक कुराहरु, जसलाई इतिहासले सदाका लाई मेटिदीसकेको थियो, ति कुरालाई ल्याएर अझै पनि मानिसका आँखामा छारो हाल्ने काम गरिरहेका छन्। यस्तो अवस्थामा सत्य कुरा के हो, त्यो सबैको सामु बाहिर ल्याउनुपर्ने आवश्यकता छ। सन् १९१७ भन्दा पहिले लेनिन र ट्रट्स्कीको बीचमा सैद्धान्तिक सवालमा धेरै फरक थिएन। तैपनि १९१७ भन्दा अगाडी यी दुवै महान क्रान्तिकारीहरुकोबीच भएका केहि मतभेदहरु यस प्रकारका छन्:
१. पार्टी संगठनको बारे: जब लेनिनले क्याडरहरुमा आधारित सर्वहाराहरुको अगुवाहरुको नया खालको पार्टी बनाउने प्रस्ताव गर्नु भयो, त्यसबखत यसको धेरै विरोध भयो, क्रान्तिकारी मार्क्सवादी तप्काबाट पनि। किनकि त्यसबेला सम्म कम्युनिष्ट पार्टीको संगठन खुल्ला किसिमको हुन्थ्यो। त्यसले मार्क्सवादी शिविरमा ठुलो हल्लाखल्ला मच्चायो। लेनिन सहि थिए तर अन्य मार्क्सवादी क्रान्तिकारीहरुले यस कुरालाई स्वाभाविक रूपमा बुझ्न सकेनन। यसै कुरामा पहिलो मतभेद भयो ट्रट्स्कीसंग। यस प्रश्नमा पार्टीका अन्य क्रान्तिकारीहरुको साथै पोलिश-जर्मन क्रान्तिकारी रोजा लग्जेम्बर्गसंग पनि लेनिनको मतभेद भयो। तर लेनिन र ट्रट्स्कीबीचको यो त्यति ठुलो मतभेद थिएन। १९१७ मा ट्रट्स्कीले बोल्शेविक पार्टी प्रवेश गर्दा यस विषयमा कुनै विवाद भएन र उनले लेनिनवादी पार्टीलाइ स्वीकार गरे ।
स्टालिनपन्थी-माओवादीहरुले ट्रट्स्कीलाइ मेन्शेविक भन्दा कुन कुरालाइ उठाउछन भने त्यहि पार्टीको विषयमा लिएर। नया खालको पार्टीको विषयमा मेन्शेविकहरुले पनि लेनिनको विरोध गरेका थिए र ट्रट्स्कीले पनि। तर त्यसबेलासम्म बोल्शेविकवाद र मेन्शेविकवाद क्रान्तिको स्वरूप, सर्वहारावर्गको भूमिका इत्यादी कुराको आधारमा छुट्टिएका थिएनन्। त्यसबेला त केवल पार्टीको समाचारपत्र ‘इस्क्रा'(झिल्को) को सम्पादक मण्डलको बहुमत र अल्पमतको आधारमा मात्र छुट्टिएका थिए। बहुमत पुगेकोलाइ रुसी भाषा अनुसार बोल्शेविक भन्न थालियो भने अल्पमतलाइ मेन्शेविक। जब गम्भीर रूपमा अब हुने क्रान्तिको स्वरुप, सर्वहारावर्गको भूमिकाको बारेमा प्रश्न उठ्यो, त्यसबेला ट्रट्स्कीले मेन्शेविकहरुसंग सबै सम्बन्ध तोडे र सन् १९१७ सम्म दुवै प्रवित्तिहरुबाट अलग, स्वतन्त्र रहे, यध्यपि उनको प्रायजसो कुरामा बोल्शेविकहरुसंग नजिक थिए।
२. क्रान्तिको स्वरूप बारे: स्टालिनपन्थी-माओवादी स्कूलमा के सिकाइन्छ भने ट्रट्स्की मेन्शेविक थिए। यो सरासर गलत हो। मेन्शेविकहरु के भन्थे भने अब हुने क्रान्ति बुर्जुवा क्रान्ति हो, त्यसकारण यसको नेतृत्व बुर्जुवावर्गले नै गर्नुपर्छ र सर्वहारावर्गले सहयोगी भूमिका मात्र खेल्नुपर्छ। बोल्शेविकहरु र ट्रट्स्की- जसले मेन्शेविक र बोल्शेविक दुवैबाट अलग, एक स्वतन्त्र विचार राख्थे- के कुरामा सहमत थिए भने अब हुने क्रान्तिको तात्कालिक कार्यभारहरु बुर्जुवा लोकतान्त्रिक नै हुनेछन-जस्तै भूमिसुधार, संविधान सभा आदि। तर बोल्शेविक र ट्रट्स्कीको के मत थियो भने साम्राज्यवादको कारणले गर्दा बुर्जुवावर्ग त्यस्तो क्रान्तिकारी वर्ग रहेन जसले सामन्तवादको अन्त्य गर्न सकोस र स्वतन्त्र पुँजीवादको विकास गर्न सकोस। त्यसकारण अबको नेतृत्व सर्वहारावर्गको नेतृत्वमा मात्रै हुन सक्छ।
तर बोल्शेविक र ट्रट्स्कीको बीचमा क्रान्तिपश्चात राज्यको चरित्र कस्तो हुने भन्नेमा मतभेद थियो। बोल्शेविकहरु भन्थे कि क्रान्तिपछिको सत्ता ‘मजदुर र किसानको जनवादी अधिनायकत्व’ हुनेछ, जसमा किसानलाई पुँजीवादी उत्पादन र वितरणको छुट हुनेछ। ट्रट्स्कीको भनाइ के थियो भने मजदुरहरुले बहुसंख्यक किसानहरुको सहयोगमा ‘सर्वहाराको अधिनायकत्व’ स्थापित गर्नेछ, जसले बुर्जुवा लोकतान्त्रिक कार्यभारहरु पुरा गरि समाजवादतर्फ अघि बढ्छ, किनभने मजदुरवर्गको स्वार्थ स्वाभाविक रूपमा पुँजीवादको स्थापना होइन, बरु त्यसलाई नष्ट गरेर समाजवाद निर्माण गर्नु हो। सन् १९१७ सम्म बोल्शेविकहरुले भने यो कुरा खुल्ला राखेका थिए। १९१७ मा लेनिन र ट्रट्स्की यस विषयमा एक ठाउँमा आएपछि नै ट्रट्स्की बोल्शेविक पार्टीमा आएका हुन्। तपाइले ऐतिहासिक दस्तावेजहरु हेर्नुभयो भने के पाउनुहुन्छ भने सन् १९१७ सम्म बोल्शेविकहरुले ‘मजदुर र किसानको जनवादी अधिनायकत्व’ को कुरा गर्छन। तर अक्टोबर क्रान्ति र त्यसपछिका दस्तावेजहरु हेर्नुभयो भने त्यहाँ तपाइले ‘सर्वहाराको अधिनायकत्व’पाउनुहुन्छ। अर्थात लेनिन र ट्रट्स्की एकै ठाउँमा आएको।
३. पार्टी एकीकरणको सम्बन्धमा: लेनिन र ट्रट्स्कीको सबैभन्दा ठुलो विवाद एउटई पार्टीमा बोल्शेविक र मेन्शेविकहरुको एकीकरण हुन सक्छ कि सक्दैन भन्ने कुरामा थियो। यस विषयलाइ लिएर यी दुइकाबीच घमासान वाक्युद्ध नै पर्यो। एक अर्काका विरुद्ध त्यसबखत धेरै लेखे। ट्रटस्कीको भनाई के थियो भने क्रान्तिको वेगले गर्दा क्रान्ति हुने समयमा मेन्शेविकहरु पनि क्रान्तिकारी लाइन लिन बाध्य हुनेछन त्यसकारण उनीहरु पनि बोल्शेविकहरुसंग एकीकरण हुन बाध्य हुनेछन। उनको यो कुरा केमा आधारित थियो भने सन् १९०५ को पहिलो रुसी क्रान्तिमा यसै भएको थियो। जब क्रान्तिको गति अघि बढ्यो, बोल्शेविक र मेन्शेविकहरुका तल्लो संगठनहरु स्वस्फुर्त रूपमा एक भएका थिए। अबको क्रान्तिमा पनि यस्तै हुने उनको विश्वास थियो। लेनिनको मत चाही के थियो भने मेन्शेविकहरु अवसरवादीमा परिणत भैसकेका छन्, त्यसकारण उनीहरुसंग एकता गर्नु हुन्न। यस कुरामा लेनिन सहि थिए र ट्रट्स्की गलत। क्रान्तिको बेला मेन्शेविकहरुले बुर्जुवाहरुको समर्थन गर्न पुगे। १९१७ को अक्टोबर क्रान्तिको सुरुवातसंगै ट्रट्स्कीले आफु गलत भएको स्वीकार गरे र बोल्शेविक पार्टीमा आबद्ध भए। त्यसबारे लेनिनले के भनेका छन् भने, “ट्रट्स्कीले यो कुरा स्वीकार गरे कि बोल्शेविक र मेन्शेविकहरु एउटई पार्टीमा रहन सक्दैनन्। ट्रट्स्कीले यो कुरा बुझे। त्यसदिन देखि ट्रट्स्कीभन्दा राम्रो बोल्शेविक अरु कोहि पनि छैन।”
यसरि हामी थाहा पाउँछौ कि यी दुवै क्रान्तिकारीहरुबीच धेरै ठुलो मतभेदहरु थिएनन् र जुन थिए ती पनि अक्टोबर क्रान्ति अघि नै मिलिसकेका थिए। यी दुवै अन्तरराष्ट्रिय समाजवादप्रति प्रतिबद्ध थिए। अक्टोबर क्रान्तिमा मुख्य नेतृत्व लेनिनको थियो भने सह नेतृत्व ट्रट्स्कीको। ट्रट्स्की पेत्रोग्राद सोभियतको अध्यक्ष चुनिएका थिए र उनी क्रान्तिकारी सैन्य परिषदको प्रमुख पनि थिए, जसको जिम्मेवारी शशस्त्र विद्रोहको थियो। विद्रोहसम्बन्धि सबै काम उनकै रेखदेखमा भएको थियो। यध्यपि प्रमुख नेतृत्व भने लेनिनकै थियो। जब तेस्रो कम्युनिष्ट अन्तरराष्ट्रियको गठन भयो, त्यसमा उनले लेनिनसंगै नेतृत्वदायी भूमिका खेले। पहिलो तीन सम्मेलनको घोषणापत्र ट्रट्स्कीले नै लेखेका थिए। त्यस्तै, क्रान्तिपश्चात स्वेत प्रतिक्रान्तिकारीहरु र १० देशका साम्राज्यवादी सेनाले भर्खरै जन्मेको सोभियत गणतन्त्रमाथि आक्रमण गर्यो, तब रुसमा स्थायी सेना थिएन, केवल मिलिसियामात्र थिए किनभने पुरानो बुर्जुवा सेनालाइ भंग गरिएको थियो। यस्तो अवस्थामा ट्रट्स्कीले शून्यबाट लालसेनाको गठन मात्र गरेनन, त्यसको नेतृत्व पनि गर्दै, एक मोर्चा बाट अर्को मोर्चामा जादै सारा प्रतिक्रान्तिकारी तथा साम्राज्यवादीहरुलाई परास्त गरिदिए। यसबारे लेनिनले प्रख्यात रुसी साहित्यकार म्याक्सिम गोर्कीसंग भनेका थिए, “मलाई (ट्रट्स्कीबाहेक) एकजना अर्को मानिस देखाईदिनुहोस जसले यति छोटो समयमा सेनाको गठन गर्ने मात्रै होइन, सैनिक विशेषज्ञहरुको पनि सम्मान पनि हासिल गर्न सकोस।”
तर लेनिनको मृत्युपश्चात दुइ नम्बरमा रहेका नेता ट्रट्स्कीलाइ एक्ल्याउन थालियो, जुन काममा स्टालिनलाइ बुखारिन, जिनोविएव र कामेनेवले सहयोग गरे। पछि आफ्नो काम सकिएपछि यी तिनैजनालाई स्टालिनले मृत्युदण्ड दिए। ट्रट्स्कीलाइ पनि पहिले निर्वासित गरि १९४० मा आफ्नो एजेन्टमार्फत हत्या गर्न लगाए। उनी रुसमै हुदा सत्ता हत्याउन उनको विरुद्ध प्रचारहरु गर्न थालियो। लेनिनसंग भएका पहिलेका मतभेदहरु, जुन महत्वहिन भैसकेका थिए, त्यसलाई फेरी तोडेर, कतिपय असान्धर्भिक भैसकेका कुराहरुलाई अगाडी ल्याएर उनी लेनिनवाद विरोधी हुन् भन्ने प्रचार गरियो। इतिहासबाट उनको नाम हटाउन थालियो। अक्टोबर क्रान्ति त लेनिन र स्टालिन मिलेर गरेको हो भन्ने भ्रम फ़ैल्याउन थालियो। आज सम्म पनि स्टालिनपन्थी-माओवादीहरु त्यहि झुठो कुराहरुमा विस्वास गर्दै, आफ्ना कार्यकर्ताहरुलाई पनि त्यहि सिकाउदै हिडिरहेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।