१७ बैशाख २०७७
धुलिखेल । काभ्रेमा विभिन्न योजनाहरु सूचारु गर्न र टिपर चलाउन दिइने भएको छ । आज बसेको जिल्ला संकट ब्यवस्थापन केन्द्रले आयोजना गरेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संघ र प्रदेश सरकारले सामाजिक दुरी र सुरक्षा अपनाउँदै आयोजना तथा योजनाहरुको कार्य सूचारु गर्ने ब्यवस्था मिलाउन निर्देशन दिए लगत्तै बैठकको आयोजना गरि यस्तो निर्णय गरेको बताइएको छ । बैठकमा जिल्ला स्थित स्थानीय सरकारका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, निर्माण क्षेत्रका ब्यवसायीहरु सम्मिलित थिए ।
लकडाउन अवधीमा समेत निर्माण क्षेत्रको कार्य सूचारु गर्ने गरी निर्माण सामाग्री ओसार पसारका लागि ढुवानी सहज बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए ।
‘जिल्ला भित्र र बाहिर पनि ढुवानीलाई सहज बनाउने गरी निर्णय भएको छ’ –प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भने– ‘जिल्ला भित्रका लागि स्थानीय सरकारको अनुमतिका आधारमा र जिल्ला बाहिरका लागि जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने छ ।’
टिपर चलाउने तालिका यस्तो छ
बैठकले टिपर चलाउने समय तालिका समेत तय गरेको छ । जस अनुसार अनुमति प्राप्त ढुवानीका सवारी साधनहरु जिल्ला भित्र विहान ११ बजे देखि १ बजेसम्म र बेलुका ७ बजेदेखि १० बजेसम्म र जिल्ला बाहिर जानका लागि बेलुका ७ बजे देखि राति ११ बजेसम्म संचालन गर्ने गरी ब्यवस्था मिलाईएको छ ।
क्रसर उद्योगमा काम गर्नेको स्वास्थ्य परिक्षण गर्ने
बैठकले क्रसर उद्योगमा काम गर्ने कामदारहरुको स्वास्थ्य परिक्षण सम्वन्धीत पालिकाको स्वास्थ्य शाखाले अनिवार्य रुपमा गर्ने निर्णय समेत गरेको छ । काभ्रेको विभिन्न क्रसर उद्योगमा २५ सय भन्दा बढी कामदारहरु कार्यरत छन् । कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलेपछि कामदारहरु कोही घर फर्केका छन् भने कोही क्रसरमै बसेका छन् ।
अन्य निर्णयहरु यस्ता छन्
विकास आयोजनाका निर्माण सामाग्री विशेष गरी ढुङ्गा, गिट्टी, बालुवा ढुवानी र उत्पादन गर्दा स्थानीय रुपमा सम्वन्धित पालिका प्रमुख तथा सम्वन्धीत वडाका अध्यक्षले सहजीकरणको ब्यवस्था मिलाउने, निर्माणजन्य सामाग्री ढुवानीका लागि सुरक्षा ब्यवस्था र सामाजिक दुरी कायम गरी नदीजन्य र खानीजन्य सामाग्रीको आपुर्तिका क्रसर ब्यवसायी संघ काभ्रेले सहजीकरण गर्ने, जिल्लामा सञ्चालित महत्वपूर्ण सरकारी आयोजनाहरु, स्थानीय तहका आयोजनाहरु र अन्य आयोजनाहरुको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरु रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायत स्थानीय सरकारका प्रमुखहरु, सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
यससँगै काभ्रेमा अब विभिन्न आयोजना तथा योजनाहरु कार्यन्वयन तिब्र गतिमा हुने विस्वास लिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















