१८ बैशाख २०७७
काठमाडौं । थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटी तिरेर छुटेलगत्तै पक्राउ परेका छन्। अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले उनी धरौटी तिरेर छुटे लगत्तै पक्राउ परेका हुन्।
उनलाई आज काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले थर्मल गन कालोबजारी मुद्दामा धरौटीमा छाड्न भने पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको अनुसन्धानका लागि उनलाई थुनामा नै राखिने भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र वोगटीले अग्रवाललाई अदालतले थर्मल गन कालोबजारीको कसुरमा छाड्न आदेश गरे पनि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको जानकारी दिँदै प्रहरीले अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाउने बताए।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने क्रममा नै उनीमाथि सम्पत्ति शुद्धीकरण र राजश्व छलीमा पनि अनुसन्धान गर्नुपर्ने व्यहोराको पत्र पठाएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।