अशोक बुद्ध लामा
१९ बैशाख २०७७
धुलिखेल । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाली काँग्रेसले काभ्रेको स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभाग संयोजक शिव प्रसाद हुमागाईको नेतृत्वमा उक्त सामाग्रीहरु वितरण गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य अनुसार कांग्रेसले जिल्लाका १३ ओटै स्थानिय तहहरुमा उक्त अभियान थालेको केन्द्रिय सदस्य हुमागाईंले बताए । सोही क्रममा विहिबार नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकालाई पिपिई र मास्क हस्तान्तरण गरेको छ ।

हुमागाईंको टोलीले नमोबुद्ध नगरपालिका प्रमुख टि.पि. शर्मा तिमल्सिना, रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामा र तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङलाई कार्यालयमै पुगेर स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सबै तहलाई २०० थान मास्क र पालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थालाई एक एक थान पिपिई पुग्ने स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
वितरणमा पुर्व सांसद तीर्थ लामा, नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, जिल्ला सदस्य जोगलाल लामा, क्षेत्रीय सभापति रमेश हुमागाई र राम योन्जन, क्षेत्रीय सचिव गुणराज मुक्तान, ट्रेडयुनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम लगायतका पुगेका थिए ।

आफूहरुले वितरण गरेको सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टिको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुखहरुलाई हुमागाईले आग्रह गरे ।
यस अघि काभ्रेको पनौती, धुलिखेल, पाँचखाल, मण्डानदेउपुर नगरपालिका, चौरी देउराली र भुम्लु गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिसकेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए । बाँकी स्थानीय तहलाई पनि चाँडै हस्तान्तरण गरिने सचिव लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।