२० बैशाख २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। साँझ साढे ५ बजेदेखि सचिवालय बैठक सुरु भएको हो।
पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ। दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रमक भएका छन्।
अध्यादेश फिर्ता लिएपछिको परिस्थितिबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाइएको हो। यो बैठकमा सचिवालय सदस्यहरु थप गर्ने सम्भावना छ। त्यसैगरी केही नेताहरुको जिम्मेवारी बाँडफाँटबारे पनि बैठकमा छलफल हुने भएको छ।
अघिल्लो बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेपालले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। उनीहरुले स्थायी कमिटी बैठक पनि बोलाउन माग गरेका छन्। यही बुधबार बसेको सचिवालय बैठक शनिबार बस्‍ने गरि सकिएको थियो।
अहिले बसिरहेको बैठकमा अध्यक्ष दाहालको बसाइको पोजिसन परिवर्तन भएको छ। शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको बसाइ पोजिसन फेरेर प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँगै राखिएको हो।
लकडाउन भएपछि दाहाललाई अन्य सचिवालय सदस्यहरुसँगै राखिएको थियो। दाहालले अघिल्लो बैठकमा गुनासो गरेपछि यो बैठकदेखि अर्का अध्यक्ष ओलीकै लाइनमा अलग्गै टेबल कुर्सी व्यवस्था गरेर राखिएको हो।
दाहाल कार्यकारी अध्यक्ष भएपछि ओ‌लीसँगै उनलाई पनि राख्ने गरिएको थियो। तर लकडाउनपछि त्यसमा क्रमभंग भएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।