२० बैशाख २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्ने सरकारको अभियानको क्रममा देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरि अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्।
कोरोना संक्रमित भई नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका ४३ जनाकै स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबैको अवस्था सामान्य रहेको जानकारी दिएका हुन्। हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको भए पनि १६ जना निको भएर घर फर्किएपछि ४३ जनाको उपचार चलिरहेको छ।
हाल विराटनगरस्थित कोसी अस्पतालमा सबैभन्दा बढी ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। वीरगञ्जमा ८ जना उपचाररत छन् भने रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १–१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउए। हालसम्म नेपालमा ४९ पुरुष र १० जना महिला कोरोना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन ।
अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्। देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।