सरोज सापकोटा
२२ बैशाख २०७७
बनेपा । यतिखेर कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण ६ चैतदेखि देशभरका विद्यालय बन्द छ । पठनपाठन ठप्प छ । एसइइ परिक्षा स्थगित भएको छ ।
लकडाउन नभएको भए यतिवेला भर्ना अभियान सकिएर बिद्यालय तहको शिक्षा निरन्तर रुपमा अगाडी बढेको हुन्थ्यो । तर, यो वर्ष यतिवेलासम्म बिद्यार्थीको लिएको परीक्षाको परीक्षाफल प्रकाशित भएको छैन । केहि बिद्यालयले परिक्षाफल प्रकाशित गरे पनि अधिकांश बिद्यालयका शिक्षकहरु लकडाउनका कारण बिद्यालयबाट घर गएका कारण परीक्षाफल प्रकाशित गर्न नसकिएको बिद्यालयहरुले जनाएको छ । विद्यालय नखुलेपछि विद्यार्थीहरु अलमलमा परेका छन् भने अभिभावकहरु चिन्ता गर्न थालेका छन् ।
विद्यार्थीहरुमा रहेको ज्ञानपनि हराउँदै गएको एक बिद्यालयका अभिभाबक दुखेसो पोख्छन् । ‘बिद्यार्थीहरुमा रहेको ज्ञान पनि हराइ सक्यो, उनीहरुमा चिन्ता मात्र छ । कहिले र कसरी बिद्यालय गएर पढ्न पाइन्छ भन्ने भन्ने चिन्तामा उनीहरुमा बढेको छ ।’ उनले भने, ‘बिभिन्न बिद्यालयले अनलाइन शिक्षा सुरु गरे पनी अनलाइन शिक्षाको पहुँचमा कतिपय शहरका बिद्यार्थीहरु नै छैनन् । अनलाइन शिक्षा भन्या छ के हो कस्तो हो देखेकै छैन, हामीलाई आउँदैन छोरा छोरीलाई कसरी सिकाउने ।’
त्यसमाथि पनि नेपालका बिभिन्न स्थानका २ सय ५० भन्दा बढी शैक्षिक संस्थामा क्वारेन्टाइन बनाइएको तथ्याङ्क छ ।
केहीले अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि अधिकांश विद्यार्थी सिकाइविना घरमा बसिरहेका छन्। केही बिद्यालयका साथै बिद्यार्थीहरुलाई अनलाइन शिक्षा आकाशको फल भइरहेको छ । नेपाल भौगोलिक रुपमा बिकट रहेको छ । सबै प्रदेशका साथै सबै जिल्ला, स्थानिय तहहरुका सबै बिद्यालयमा इन्टरनेट प्रभाबकारी रुपमा पुग्न सकेका छैनन् । साथै नेपाल सरकारले दुर शिक्षा संचालन गरिरहेको छ । बिभिन्न च्यानल केबल कम्पनीका साथै डिस होम मार्फत कक्षाहरु संचालन भएको छन् तर ति सबै प्रभाबकारी हुन सकिरहेको छैन ।
एक तथ्याङ्क अनुसार, विद्यालय तह १ देखि १२ कक्षासम्म मा ७० लाख हाराहारीमा बालबालिका अध्ययन गरिरहेका छन् । तर सबै बिद्यालयका साथै बिद्यार्थीहरु समस्यामा परेको नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले बताए । उनका अनुसार पठनपाठन सबै ठप्प नै छन् । ‘वालवालिकाहरु घरमा नै पठन पाठन भन्दा धेरै पर रहेको अवस्था छ ।’ उनले भने, ‘विशेष त एसईई का विद्यार्थीहरु प्रभावित भएका छन् किनकि परीक्षा हुनुभन्दा केही घण्टा अघि मात्र स्थगित भएका कारण उनिहरुमा सबै भन्दा बढि चिन्ता थपिएको छ ।’
यस अबस्थामा वालवालिकाको सिकाइ सुन्य नै रहेको छ । उनका अनुसार विशेष त अभिभावकहरुले यतिबेला धैर्य गर्ने, साहसिक बन्ने वालवालिकामा कोरोनाको डर चिन्ता नगराउने, आफू पहिला निडर र सचेत रहने, विभिन्न रचनात्मक÷सिर्जनात्मक कार्यमा संलग्न हुने÷गराउने काममा सक्रिय हुनु पर्छ । सबै भन्दा मुख्य कुरा त पारिवारिक सुरक्षालाई ख्यान गर्नु पर्ने उनको भनाइ छ ।
बिद्यार्थीहरुलाई घरमा बसेर खेल्ने, चित्र कोर्ने, भिडियो हेर्ने जस्ता कार्यमा व्यस्त गराउनु पर्ने उनको भनाइ छ । योगामा संलग्न गराउने जसले वालवालिकाको शारीरिक, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ, घरमा विविध सामान्य प्रकारका परिकार पकाउन सिकाउने शिक्षा, नयाँ भाषाको सिकाइमा संलग्न गराउने यदि इन्टरनेटको सुविधा छ भने, विभिन्न चित्र कोर्न, हस्तकलाका सीपहरु सिकाउन सकिन्छ ।
उत्ता नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेपलाञ्चोकका अध्यक्ष श्यामप्रसाद पाण्डेका अनुसार यस्तो बिषम् परिस्थितीमा बालबालिकाहरुमा त्रासका लक्षणहरु देखिन सक्छन् । उनीहरुमा एक्लोपन, चिड्चिडाहट, अध्ययनमा ध्यान नलाग्ने जस्ता समस्याहरु देखा पर्न सक्छन् । त्यसबाट बचाउन बालबालिकाहरुलाई कुनै न कुनै सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यहरुमा व्यस्त राख्नुपर्दछ । उनका अनुसार, खेल, चित्रकला, गीत–संगीत, घरायसी कामहरु आदिले बालबालिकाहरुलाई व्यस्त राख्न सक्छन् । अभिभावकहरु तथा शिक्षकहरुले यसमा सहयोग गर्नुपर्दछ ।
साथै, शिक्षक र विद्यार्थीहरु बीच सञ्चार सम्बन्ध कायम राख्नु पर्दछ । अझ जटिल लक्षणहरु देखा परेमा मनो–परामर्श दिनुपर्ने हुन सक्छ । उनले, स्थानिय सरकारलाई लक्षित गर्दै भने, ‘स्थानीय सरकारसँग मेरो अनुरोध छ । हामी नेपालीहरुमा सरकारले दिएपछि लिनुपर्छ भन्ने सँस्कार छ । त्यसैले राहतमा मात्र स्थानिय सरकार ब्यस्त हुने भन्दा पनि बालबालिकाको शिक्षा तर्फको समस्यामा समेत ध्यान दिनुपर्ने हुन्छ ।’
आजका बालबालिकाहरुको शिक्षा अवरुद्ध भयो भने भविष्य अन्धकार हुन सक्ने चेतावनी दिए । तसर्थ, अब, राहत भन्दा पनि शिक्षातिर ध्यान दिन ढिला भएको भनाइ उनले ब्यक्त गरे । तत्काल छलफल गरेर बैकल्पिक शिक्षाको योजना ल्याउनपर्ने उनले बताए ।
यसैगरी रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख राम तामाङका अनुसार हिजोआज हिउँदे बालीहरुको सिजन भएका कारण जौ, गहुँ, तोरी जस्ता बालीहरु भित्र्याउने समय भएकोले ती बालीहरु टिप्ने तथा केलाउने तरीकाहरु आफ्ना बालबालीकामा सिकाउनु पर्छ । ‘श्रमप्रति सम्मान गर्न सिकाउनु पर्दछ ।’ लामाले भने, ‘अहिलेको समय वर्षेबालीहरु जस्तै मकै, सिमी, बोडी, भटमास, काँक्रा, खोर्सानी जस्ता बालीहरु लगाउने बेला भएकोले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई ती बालीहरु लगाउने तरिकाहरु सिकाइ तिनीहरुलाई व्यस्त राख्ने तथा समय अनुसारको जीवनोपयोगी ज्ञान तथा सीपहरु सिकाउन सकिन्छ ।’
यसैगरी एक बिद्यालय एक नर्स कार्यक्रमका सर्बमंगला माध्यमिक बिद्यालयमा कार्यरत नर्स सुस्मिता गुरागाईँका अनुसार, बिद्यालय खोल्नु पुर्व सबै बिद्यार्थीहरुको साथै अभिभाबक र शिक्षकहरुको स्वास्थ्य चेकजाँच गरेर मात्र बिद्यालय खोलिनु पर्नेमा जोड दिईन् । ‘यो भाइरसका कारण बिद्यालय प्रत्यक्ष रुपमा जोखिमबाट मुक्त हुन सक्दैन ।’ उनले भनिन्, ‘त्यसका लागि सबै बिद्यालयमा स्वास्थ्य कर्मीहरुको ब्यबस्था गरि कार्यक्रम गरिनुपर्छ । यसैगरी बिद्यालय नर्सका लागि आबश्यक स्वास्थ्य सामाग्रीहरु बिभिन्न बिद्यालयमा पुर्याइनु पर्छ ।’

Comments

comments