२२ बैशाख २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा भएको छलफल सकिएको छ। सोमबार बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफल सकिएको हो।
मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ सहमतिअनुसार अध्यक्षद्वयको वरियताक्रम यथावत रहनेछ भने ओली सरकारको काममा र प्रचण्ड पार्टीको काममा केन्द्रित हुनेछन् ।
पार्टीका बैठकहरु संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने र आमरुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने सहमतिलाई आउँदा दिनमा लागू गर्ने समझदारी बनेको छ। ओली पाँचै वर्ष प्रधानमन्त्री रहनेछन् भने पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले आपसी सल्लाह गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी विभाजन गर्न सहज हुने ढंगले अध्यादेश ल्याएपछि नेकपाभित्र चर्को विवादको कारण फिर्ता लिनु परेको थियो। सोही विषय पनि स्थायी समिति सदस्यहरुले उठाउने तयारी गरेका छन्।
शनिबारको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेण्डा तयार गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। सचिवालयले दिएको जिम्मेवारी लगत्तै अध्यक्ष प्रचण्ड एजेण्डा तय गर्न गृहकार्यमा जुटीरहेका छन्। त्यसका लागि माधवकुमार नेपालसँग प्रचण्डले पहिलो छलफल गरेका छन्।
नेता नेपालको समेत धारणा बुझेर प्रचण्ड सोमबारबाट स्थायी समितिका एजेण्डा तय गर्न जुटेका छन् । त्यस क्रममा प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग समेत छलफल हुन्। २४ गते बस्ने सचिवालयमा छलफल गरेर प्रचण्डले तय गरेका एजेण्डा स्थायी समितिमा लैजाने तयारी रहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















