२३ वैशाख २०७७
काठमाडौं । नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।
नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।
नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्।
नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरी वैशाख २५ गते मध्यरातसम्म यो निर्णय लागू हुनेछ।
हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।

Comments

comments