२३ बैशाख २०७७
काठमाडौं । मुलुकभर हालसम्म ६६ हजारभन्दा बढी कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ५२ हजार २ सय २७ र पिसिआर विधिमार्फत १३ हजार ८ सय ५० वटा गरी कुल ६६ हजार ७७ वटा परीक्षण भएको जनाएको छ।
मंगलबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ वटा परीक्षण गरिएको बताए।
उनका अनुसार सबैभन्दा वढी सुदुरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ वटा र सबैभन्दा कम प्रदेश नम्बर ५ मा ५ हजार १ सय ९३ वटा आरडिटी परीक्षण गरिएको छ।
त्यसैगरी प्रदेश नम्बर १ मा ६ हजार १ सय २२, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ७८, बाग्मती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार ७४ र कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ वटा परीक्षणहरु भएका छन्।
त्यस्तै आजसम्म देशभर क्वारेन्टाइनमा बस्नेहरुको संख्या २१ हजार ९९ जना रहेको छ। आजको अपडेटअनुसार सबैभन्दा कम बाग्मती प्रदेशमा २ सय ५८ जना र गण्डकी प्रदेशमा ७ सय २६ जना क्वारेन्टाइनमा रहेका छन्।
त्यसपछि प्रदेश नम्बर २ मा १ हजार २ सय ९० जना, प्रदेश नम्बर १ मा २ हजार १ सय २४ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय ५४ र सुदुरपश्चिम प्रदेशमा ४ हजार २५ जना रहेका छन्। देशभर सबभन्दा धेरै भने प्रदेश नम्बर ५ मा ८ हजार ९ सय २२ जना क्वारेन्टाइनमा रहेका छन्।
मंगलबार काठमाडौं उपत्यकामा २ जना र काठमाडोंबाहिर १ सय १८ जना गरी कुल १ सय २० जना सम्भावित र संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।