२३ बैशाख २०७७
काभ्रे । पनौती नगरपालिका– ७ मा रहेको पुरानो बजारमा आदिकालदेखि नेवार जातीको मात्र बसोबास रहेको स्थान हो । यहाँ नेवारहरुले नै धर्म संस्कृत र पुरातात्वीक सम्पदा जोगाएर राखेको छ । विश्व सम्पदा सूचीमा समेत सूचिकृत हुनेसम्मको सम्पदाको रक्षक नै नेवार समुदाय हो ।
बसाई सराईका कारण नेवार बाहेक अन्य समदाय पनि त्यस क्षेत्रमा बसोबास गर्न आउने क्रम देखेपछि वडा नं. ७ ले नेपालमै नौलो निर्णय गरेको छ । सो वडाको पुरानो बजार क्षेत्रमा घरजग्गा किनबेच अब नेवार समुदायले मात्र गर्न पाउने निर्णय वडाले गरेको छ ।
वडाध्यक्ष रामचन्द्र नास्नानीले एक सूचना जारी गर्दै नेवार बाहेक अरु समुदायले यस क्षेत्रको घर जग्गा किनबेच गर्न नपाउने जनाएको छ । यस क्षेत्रमा नेवार समुदाय मात्र बसोबास गर्ने गरेको वडा अध्यक्ष नास्नानीले तेमाल अनलाईनलाई जानकारी दिए ।
उनले जारी गरेको सूचनामा यस्तो लेखिएको छः
‘यस पनौती नगरपालिका– ७ वडाको पुरानो बजार स्मारक क्षेत्रभित्र बसोबास गरिरहने नेवारी जातिको बाहुल्यता भएकोले धर्म संस्कृत र पुरातात्वीक सम्पदा जोगाउनका लागि पुरानो घर तथा जग्गा घर धनिहरुले नेवार जाति बाहेक अन्य जातजातिहरूलाई बेचबिखन गर्नका लागि घर बाटोको मुल्यांकण सिफारिस लिन आएको खण्डमा सिफारिस गर्नु भएन भनी यस वडाका भद्रभलादमीहरूले यस कार्यालयमा आई पटक–पटक गुनासो गरेको हुँदा यस वडा समितिको मिति २०७७–०१–२३ गतेका दिन बसेको बैठकबाट नेवार जातिहरू बाहेक अन्य जातिहरूलाई घर बेचबिखन गर्नका लागि सिफारिस लिन आएमा घर धनिहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडाबासिहरूलाई यसै सूचनामार्फत जानकारी गराईन्छ ।’
आफ्नो थतथलो जोगाउन पनौतीका नेवार समुदायले गरेको यो कदम नेपालमै नौलो हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।