२५ बैशाख २०७७
काठमाडौं । शुक्रबार देखि सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । कोरोना भाइरस ९कोभिड १९० कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पुरा भएको हो ।
संघीय संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सबै सदस्यको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी र टेबुल, माइक व्यवस्थापन, सफाई, लगायतका सबै तयारी पुरा भएको जानकारी गराएको हो ।
सभामुख सापकोटाले विहीबार अपरान्ह् सभाहलको स्थलगत अवलोकन गरि तयारीबारे जानकारी लिएका थिए । सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी सीट प्लान गरिएको छ ।
हरेक दुुइ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ । संयुक्त सदन बस्दा १०० जना हाराहारीको संख्यामा माननीयहरुका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको छ ।
प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना हाराहारी सांसद माथि बस्ने छन् । आज विहान सिंहदरबारस्थित कार्यकक्षमा बसाई व्यबस्थापन लगायतका विषयमा सभामुख सापकोटाले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी सांसदहरुले सबै सांसदले कोरोनाको परिक्षण गराउनुपर्ने, परिक्षण गराउन नपाका, नभ्याएका सांसदहरुलाई परिक्षण र त्यसको रिपोर्टपछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुझाव दिएका थिए ।
संसद बैठकअघि कोरोना भाइरस भए नभएको बारे पिसि र विधिबाट परीक्षण गर्ने कार्यव्यवस्था समितिको निर्णय अनुसार आज संघीय संसद अन्तरगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
जसमा १७९ जना प्रतिनिधिसभाका माननीय सदस्य, ३३ जना राष्टिय सभाको माननीय सदस्य गरी २१२ जना माननीयको स्वाब संकलन गरिएको छ । सांसद बाहेक आज कर्मचारी र मर्यादापालक गरी २२९ जनाको स्वाब संकलन गरिएको छ ।
परीक्षणका लागि ४४१ जनाको स्वाव संकलन गरिएको हो । आज स्वाव संकलन गरिएका सबैको रिपोर्ट भोलि आईसक्ने संसद सचिवालय अन्तरगत स्वास्थ्य ईकाका डा। पुष्प रिजालले जानकारी दिए ।
विहान १० बजेदेखि दिउँसो २ बजे सम्म स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गर्न बाँकि माननीय, संसद भवनमा अनिवार्य उपस्थित हुनुपर्ने सुरक्षाकर्मी र कर्मचारीको परिक्षण भोलि विहान ८ बजे देखि १० बजे सम्म आइसिसि भवनको लोत्से हलमै स्वाब संकलन गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















