२७ बैशाख २०७७
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रोकिएको कोरोना भाइरस (कोभिड १९) को परीक्षण शनिबारबाट पुनः हुने भएको छ।
संघीय सरकारले पिसिआर किट उपलब्ध गराएपछि शनिबारबाट परीक्षण सुरु भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइँले जानकारी दिए।
शुक्रबार संघीय सरकारमार्फत हेटौंडाको ल्याबका लागि ४ सय किट प्राप्त भएको उनले जानकारी दिए। संघीय सरकारले बागमती सरकारलाई उपलब्ध गराएको पिसिआर र आरडिटी दुवै किट अभावमा दुई दिनदेखि परीक्षण रोकिएको थियो।
यसअघि संघीय सरकारले पाँच सय पिसिआर किट दिएको थियो। हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पिसिआर मेसिनबाट चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ। यसअघि दुई दिन किट अभाव हुँदा परीक्षणका लागि १० जनाको संकलित स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो।

Comments

comments