२८ बैशाख २०७७
धुलिखेल । काभ्रेमा सञ्चालन भएका विभिन्न उद्योगहरु कोभिड १९ सम्बन्धी न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन नगरेको पाइएमा सञ्चालन अनुमति रद्ध गरिने भएको छ । आज बसेको जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा उद्योग अनुगमन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । ‘समितिले जिल्ला भित्र सञ्चालन भएको विभिन्न उद्योगहरुले कोभिड १९ सम्बन्धी न्यूनतम सुरक्षा अवलम्बन गरेको नगरेको अनुगमन गर्ने तथा उद्योग भित्र काम गर्ने कामदारहरुको आवास व्यवस्थापनको समेत अनुगमन गर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने, ‘नियम अनुसार व्यवस्थित गरेको नपाइएमा सो समितिले तत्काल सञ्चालन अनुमती रद्ध गर्ने छ ।’
करिब २० हजार घरपरिवारलाई राहत
काभ्रेमा राहत वितरण कार्यलाई पनि तिब्र बनाएको छ । मितिल्सिनाका अनुसार काभ्रेमा अत्यन्त न्यून आय भएका १९ हजार ८ सय १६ घरपरिवारलाई प्याकेजमा राहत उपलब्ध गराइएको छ । दैनिक ज्यालादारमा काम गर्ने घरपरिवारहरुलाई हालसम्म जिल्ला स्थित स्थानीय तहहरुबाट प्याकेजमा राहत उपलब्ध गराइएको हो ।
स्वास्थ्य सामाग्री र परिक्षण
जिल्लामा विदेशबाट आएका समेत गरि ५ सय ४४ जना व्यक्तिहरुको आरडिटीबाट परिक्षण भएको छ भने ५ सय ८९ जनाको पिसिआरबाट परिक्षण भएकोमा ६९ जना यस जिल्लाका र ५ सय २० जना टेकु अस्पतालबाट पठाइएका स्वाबको परिक्षण भएको छ । परिक्षणको क्रममा २ जनाको आरडिटीबाट पोजिटिभ रिपोर्ट आएता पनि बाँकी सबैको पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।
त्यसैगरि कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्थानीय तहहरु, जिल्ला स्थित अस्पतालहरु र सुरक्षा निकायलाई समेत गरि पीपीई १६ सय १० थान, गोगल्स ६ सय ४० थान, फेस मास्क १ लाख ४२ हजार ८ सय ५०, एन ९५ मास्क १ हजार ३० वटा, सेनिटाइजर ११ हजार ४ सय १८, सर्जिकल ग्लोभ्स ४ लाख ७५ हजार ३ सय, भिटीएम ६ सय ५ थान, आरडिटी ९ सय २० वटा, थर्मल गन २ सय १५, स्वाव कलेक्सन बुथ १ थान प्राप्त भएको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















