काठमाडौं । सत्तारुढ नेकपाका सांसद भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रित भएर बजेट ल्याउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतिहरु केन्द्रित गरी बजेट ल्याउनुपर्ने बताएका हुन् ।
देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेपनि अहिले सबै भन्द रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न आग्रह गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।