३० बैशाख २०७७
पर्सा । एकैदिन ३९ जना कोरोना संक्रमित पुष्टि भएपछि अहिले साँझ ८ बजेबाट पर्सामा निषेधाज्ञा जारी भएको छ। संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अहिले साँझ ८ बजेबाट जेठ ५ गते १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी गरिएको समयमा सुरक्षा सुव्यवस्था, खानेपानी, दूध, इन्धन, विद्युत्, दमकल, सञ्चार, औषधि, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यकबाहेक कुनै पनि गतिविधि गर्न नपाइने पर्साका सहायक सिडिओ ललित बस्नेतले जानकारी गराए।
पर्सामा मंगलबार साँझ ८ बजेबाट जारी गरिएको निषेधाज्ञाका समयमा संचारकर्मीले पनि सवारी चलाउन नपाइने निर्णय गरिएको छ। पर्सामा पहिलो पटक २ सञ्चारकर्मीमा पनि संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको उनले बताए।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकका अन्य कुनै किसिमका सवारी साधन चलाउन नपाइने गरी बैठककले निर्णय गरेको कोभिड १९ कमाण्ड पोस्ट पर्साका सदस्य सचिव तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
पर्सामा नेपाल–भारत खुला सीमामा सुरक्षा व्यवस्था थप कडा पारिने भएको छ। सुरक्षा सुव्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्र नभई नेपाली सेनाको पनि सहयोग लिइने भनिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।